निःशुल्क रगत उपलब्ध गराउने नेपालकै पहिलो स्थानीय सरकार बन्यो माडी

169
SwadeshPost

माडीका जनता र माडीमा कार्यरत कर्मचारीहरुलाई निःशुल्क रगत उपलब्ध गराउन माडी नगरपालिका र क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरबिच सम्झौता भएको छ । योसंगै माडी नगरपालिका नगरवासीहरुलाई निःशुल्क रगत उपलब्ध गराउने पहिलो स्थानीय सरकार बनेको छ ।

माडीबासीहरुलाई आवश्यक रगत निःशुल्क उपलब्ध गराउन प्रथम पक्षस्वरुप नगरप्रमुख ठाकुर प्रसाद ढकाल, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाका सभापति भागिरथ बस्याल तथा दोश्रो पक्षका रुपमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भरतपुरका सभापति ज्ञानशाली न्यौपाने, मन्त्री हरि पौडेल र क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलबिच दुईपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार माडीवासीको परिचयपत्रको आधारमा क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले निःशुल्क रगत दिनेछ भने नगरपालिकाले सो कार्यालयलाई मासिक रुपमा एकमुष्ट भुक्तानी गर्नेछ । आकस्मिक बिरामीहरुले कागजात जुटाउन नभ्याउने अवस्थामा रकम धरौटी राखी रगत पाउन सक्ने र पछि कागजात पुरा भएपश्चात नगरपालिकाबाट भुक्तानी हुने व्यवस्था गरिएको छ । रगत खरीद गर्दा एक युनिटको रु ८५० खर्च हुने गर्दछ । भरतपुरबाहिर काठमाडौँ, पोखरालगायतका ठाउँहरुमा उपचार गर्दा आवश्यक पर्ने रगत भने रसिदको आधारमा नगरपालिकाले भुक्तानी गर्ने व्यवस्था मिलाइने नगरप्रमुख ढकालले बताउनुभयो ।

यसबाहेक माडीको बसन्तपुरमा रहेको कृषि सेवा केन्द्रको भवन मर्मत गरी त्यहाँ ब्लड बैंकको टुकडी स्थापना गरिने र तत्कालै बघौंडा अस्पतालमा साना तथा मध्यम शल्यक्रिया सेवा सुरुवात हुने जनाइएको छ ।

SwadeshPost