माडीमा नगरप्रमुखको संयोजकत्वमा कोरोना रोकथाम समन्वय समिति गठन

177
SwadeshPost

कोभिड १९ को संक्रमण नियन्त्रणका लागि माडी नगरपालिकामा नगरप्रमुख ठाकुर प्रसाद ढकालको संयोजकत्वमा नगरस्तरीय कोरोना रोकथाम समन्वय समिति गठन भएको छ ।

माडी नगरपालिकामा मंगलबार बिहान बसेको आकस्मिक बैठकले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर कुँवर, ईलाका प्रशासन कार्यालय माडीका प्रमुख खोवराज सुवेदी, ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्क बहादुर विश्वकर्मा, सशस्त्र प्रहरी बल छरछरेका प्रमुख थकाली थारु, नगर जनस्वास्थ्य शाखाका प्रमुख जीवन कुमार श्रेष्ठ, उद्योग बाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य र नगर सुचना प्रविधि अधिकृत प्रवीण भण्डारी सदस्य रहनुभएको कोरोना रोकथाम समन्वय समिति गठन गरेको हो । समितिको सदस्य सचिवमा स्वास्थ्य शाखाका उपप्रमुख शिव सुवेदी रहनुभएको छ ।

बैठकले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सबैले आ-आफ्नो स्थानबाट सहयोग गर्ने, अत्यावश्यक काम बाहेक घरबाहिर ननिक्लन नगरबासीलाई अनुरोध गर्ने र गाउँगाउँमा माइकिङ गरी सुचना प्रचार प्रसार गर्ने निर्णय गरेको छ । साथै, अति आवश्यकीय खाद्य सामग्रीहरुका लागि मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म सुरक्षित तवरबाट विक्रिवितरणको व्यवस्था मिलाउने समेत निर्णय गरिएको सो समितिले जनाएको छ ।

SwadeshPost