माडी नगर बिपद् व्यवस्थापन कोषमा डेनिस संस्थाद्वारा ९ लाख रुपैंया सहयोग

242
SwadeshPost

माडी नगरपालिकामा स्थापित बिपद् व्यवस्थापन कोषमा एक डेनिस संस्थाले ९ लाख रुपैंया सहयोगस्वरुप प्रदान गरेको छ ।

कोभिड १९ को विश्वव्यापी संक्रमण रोक्न लागु रहेको लकडाउनका कारण माडी क्षेत्रमा रहेका अतिविपन्न कोहि कसैको दैनिक चुलो नबल्ने अवस्था नआओस् भन्ने ध्यायले स्थापित सो कोषमा डेनमार्कस्थित ‘पल डे जनसन फाउण्डेशन’ले ९ लाख रुपैंया प्रदान गरेको हो । डेनिस स्वयम्सेवी संस्था भिलेज डेलभपमेन्ट इन नेपालकी प्रमुख लोने पिटर्सनको पहल तथा स्थानीय साझेदार नेपाली संस्था माडी एकीकृत समावेशी दिगो विकास परियोजनाको सहकार्यमा सो रकम कोषमा दाखिला भएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । सहयोगीहरुलाई नगरप्रमुख ढकालले कृतज्ञता ज्ञापन समेत गर्नुभएको छ ।

यसअघि डेनिस नागरिक पिटर्सनले माडी क्षेत्रमा कोरोना भाइरस नियन्त्रणका लागि ८ लाख २५ हजार रुपैंया बराबरका पि.पि.ई., सर्जिकल मास्क, इन्फ्ररारेड डिजिटल थर्मोमिटर, ग्लोब्स, फिनेल लगायतका स्वास्थ्य सामग्रीहरु नगरपालिकालाई प्रदान गर्नुभएको थियो । मेडिकल सामग्रीहरु पाएसंगै कोरोना बिरुद्धको लडाईमा निकै सहयोग पुगेको माडीको जनस्वास्थ्य शाखाले जनाएको थियो ।

SwadeshPost