चेपाङ परिवारहरुलाई सुरक्षित घरमा राख्न माडी नगरपालिकाद्वारा घर निर्माण कार्यलाई तीब्रता

384
SwadeshPost

कुसुमखोलाबाट बसाई सरी आएका चेपाङ परिवारहरुलाई सुरक्षित घरमा राख्न माडी नगरपालिकाले पूर्वी माडीको राइडाँडामा घर निर्माण कार्यलाई तीब्रता दिएको छ ।

माडी नगरपालिका वडा नं. ९ स्थित सो टोलमा रहेका ४० घरपरिवार चेपाङहरुलाई खरले छाएका अस्थायी र कच्ची छाप्रोहरुबाट जस्तापाताले छाएका सुरक्षित घरमा राख्न नगरपालिकाले घर निर्माण गरिरहेको हो । छिमेक लघुवित्त वित्तीय संस्था र प्रदेश नं. ३ सरकारको सहयोगमा जनता आवास कार्यक्रम अन्तरगत नगरपालिकाले प्रत्येक परिवारलाई दुईवटा कोठायुक्त घर बनाई हस्तान्तरण गर्ने योजना रहेको छ ।

कोरोना भाइरसको नियन्त्रणका लागि लागु रहेको लकडाउनका कारण अन्य सबैजसो विकासे कामहरु बन्द रहेपनि घर निर्माण कार्य रोकिनु परेको छैन । हाल १४ वटा घर तयार हुने क्रममा रहेको र आउँदो बर्षायाम अगावै ४० वटै घर निर्माण पुरा हुने माडी नगरपालिकाका प्रवक्ता एवं वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदीले जनाउनुभयो । त्यसपश्चात अन्य ठाउँमा बसिरहेका थप चेपाङ परिवारका लागि घर बनाउने परियोजना सुरु हुने उहाँको भनाई छ ।

SwadeshPost