बैदेशिक रोजगारीबाट फर्किएर माडीका एक युवा व्यवसायिक हाँसपालनमा

166
SwadeshPost

बैदेशिक रोजगारीबाट फर्किएर माडीका एक युवाले व्यवसायिक हाँसपालन सुरु गरेका छन् । माडी-४, सिधुवा निवासी सिमान्त चौधरीले माडीकै ईनारबरुवा गाउँमा व्यवसायिक हाँसपालन थाल्नुभएको हो ।

हाल सुरुवाती अवस्थामा रहेको उहाँको ‘डक फर्म’मा करीब २५० वटा हाँस पालिएका छन् । यो संख्यालाई बढाउँदै लैजाने र जीउँदो हाँससंगै हाँसको अण्डा र चल्ला समेत बिक्री गर्ने उहाँको योजना छ । स्थानीय गाउँले र मासु व्यवसायीसंगै सौराहाका होटल व्यवसायीहरुले समेत उहाँबाट भाले हाँस प्रतिगोटा रु १५०० र पोथी हाँस प्रतिगोटा ८०० देखि ९०० रुपैंयासम्ममा खरिद गरी लैजाने गरेका छन् । यसबाट परिवारसंगै बसी मासिक ५० देखि ६० हजारसम्म आम्दानी गर्न सकिएको उहाँको अनुभव छ ।

कृषक चौधरीले घरसंगै साधारण खोर, सामान्य खालको पोखरी र बाँसले बारेर चरिचरन क्षेत्र बनाई हाँस पालिरहनुभएको छ । हरेकजसो थारु परिवारमा केहि संख्यामा हाँस पाल्ने गरिएकोमा त्यसलाई बढाई उहाँले व्यवसायिकरण गर्नुभएको हो । हाँसका चल्लाहरुलाई एक महिनाको हुँदासम्म कुखुराकै दाना र त्यसपछि चोकर, मकै र बीउबीजन दिएर सहज रुपमै हुर्काउन सकिने उहाँले बताउनुभयो । साउदी अरेबियामा सिसिटिभी प्राविधिकका रुपमा काम गर्नुभन्दा स्वदेशमै गरिएको ईलममा आफू खुसी रहेको उहाँको भनाई छ ।

SwadeshPost