माडीको सितलपुरस्थित ऐतिहासिक एकता स्तम्भमा कम्पाउण्ड पर्खाल निर्माण कार्य जारी

318
SwadeshPost

लकडाउनको समयमा सबैजसो निर्माण परियोजनाहरु ठप्प भइरहँदा माडीको सितलपुरस्थित ऐतिहासिक एकता स्तम्भमा कम्पाउण्ड पर्खाल निर्माण कार्य निरन्तर अगाडि बढेको छ ।

बागमती प्रदेश सरकार अन्तरगत शहरी विकास तथा भवन कार्यालय हेटौंडाको करीब ५० लाख लागत सहयोगमा एकता स्तम्भ वरपरको क्षेत्रभर कम्पाउण्ड पर्खाल निर्माण जारी रहेको हो । गतबर्ष माघ २६ गते योजना सम्झौता भई निर्माण थालिएको सो परियोजना आउँदो जेष्ठ १५ गतेभित्र निर्माण सक्नुपर्ने समयसीमा रहेको छ । लकडाउनको समयमा निर्माणकार्य जारी राखिएको भएपनि निर्माण सामग्री र प्राविधिकहरुको व्यवस्थापन गर्न भने गाह्रो भइरहेको एकता स्तम्भ तथा सहिद पार्क निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष टिकाराम पौडेलले बताउनुभयो ।

२०४८ मंसिर ११ देखि २३ गतेसम्म तत्कालीन पाँचवटा कम्युनिष्ट पार्टीहरुको चौथो एकता महाधिवेशन भएको स्थलका रुपमा परिचित माडी-४, सिचलपुरमा एकता स्तम्भसहित पार्क निर्माणको बृहत् परियोजना अगाडि बढेको हो । सो स्थानमा ५५ फिट अग्लो एकता स्तम्भ निर्माणकार्य करीब पुरा भइसकेको छ । स्तम्भ वरपरको करीब २५ कठ्ठा क्षेत्रफल जमीनलाई संरक्षणका लागि हाल कम्पाउण्डिङ्ग कार्य जारी रहेको हो ।

SwadeshPost