सुनौली र कृष्णनगर नाकाबाट नाका उद्धार गरिएकाहरू क्वारेन्टाइनमा

123
SwadeshPost

भारतका विभिन्न शहरहरुबाट स्वदेश फर्किने क्रममा सुनौली नाकामा आइपुगेका ५४ जना र कृष्णनगर नाकाबाट १२ जना माडीबासी नेपालीहरुको उद्धार गरिएको छ ।

पश्चिमी नेपालको कृष्णनगर र सुनौली नाकामा आएका माडीबासीहरुको उद्धारका निम्ति २ वटा मेट्रोबस लिएर माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल तथा वडाध्यक्षहरु रामबन्धु पोखरेल, ईश्वरी ढकाल र कृष्ण प्रसाद पौडेल एवं माडीका स्वास्थ्यकर्मीहरुको टोली सुनौली पुगेको थियो । सो टोलीले त्यहाँको प्रशासन कार्यालय र सुरक्षाकर्मीहरुको सहयोगमा ५४ जना माडीबासीहरुसंगै भरतपुर महानगरपालिका १९ र २२ निवासी ५ जनाको उद्धार गरेको हो ।

यसैबिच, उद्धार गरी माडी ल्याइएकाहरुलाई बरुवास्थित क्वारेन्टाइन सेन्टरमा राखिएको छ । उनीहरु सबैलाई सोमेश्वर माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइन सेन्टरमा राखिएको हो । क्वारेन्टाइन सेन्टरमा सबैका लागि सामाजिक दुरी कायम हुनेगरी बस्ने व्यवस्था गरिएको छ । त्यसैगरी खानपिनका लागि मेस, उच्च गतिको इन्टरनेट र नियमित स्वास्थ्य परीक्षणको व्यवस्था समेत गरिएको छ । नाकाबाट उनीहरुलाई बसमा राखी लिएर आएका सवारी चालकलाई भने होम क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

SwadeshPost