ठोरीस्थित भारतीय क्वारेन्टाइन सेन्टरमा राखिएका १५ नेपालीहरु स्वदेश प्रवेश

303
SwadeshPost

सीमावर्ती भिखना ठोरी नजिकैको भारतीय क्वारेन्टाइन सेन्टरमा राखिएका १३ जना माडीबासीहरुसंगै १५ जना नेपालीहरु नेपाल प्रवेश गरेका छन् । गएराती पैदल यात्रामार्फत उनीहरु बाँदरझुला नजिकको बाटो हुँदै स्वदेश आइपुगेका हुन् ।

उनीहरुको उद्धारको लागि आवश्यक व्यवस्था गर्न लागिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो । उनीहरु सबैलाई माडी ल्याएर गोविन्दबस्तीस्थित क्वारेन्टाइन सेन्टरमा राख्ने योजना छ । यसअघि धमौरा क्वारेन्टाइन सेन्टरबाट निक्लिएर स्वदेश छिरेका ९ जना माडीबासी नेपालीहरु समेत गोबिन्दबस्तीकै क्वारेन्टाइन सेन्टरमा राखिएका छन् । करीब एक साताअघि उनीहरु नेपाल प्रवेश गरिसकेकोमा ठोरीस्थित शसस्त्र प्रहरीले बल प्रयोग गरी भारततर्फ नै पठाइदिएको थियो । भारतीय क्वारेन्टाइन सेन्टरमा राखिँदा अन्य भारतीयहरुसंग उठबस हुने गरेकाले कोरोना संक्रमणको जोखिम झनै बढेको भन्दै उनीहरु असुरक्षित महसुस गर्दै आएका थिए ।

यसैबिच, बरुवास्थित क्वारेन्टाइन सेन्टरमा गएसाँझ थप ४ जनालाई राखिएको छ । उनीहरुमा माडी २ का ३ जना र माडी ९ का १ जना रहेको र यो संगै क्वारेन्टाइनमा बस्नेहरुको संख्या ७० पुगेको वडाध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो । नागरिकहरुको स्वास्थ्य र सुरक्षामा माडी नगरपालिका सदैव सजग रहेको उहाँको भनाई छ ।

SwadeshPost