भेन्टिलेटर सहितको आई.सि.यु. माडीमै स्थापना हुनुपर्ने वडाध्यक्षद्वयकाे माग

146
SwadeshPost

माडीका क्वारेन्टाइनहरुमा समेत कोरोना भाइरस संक्रमितहरु भेटिएको सन्दर्भमा माडीका दुई वडाध्यक्षले माडीमै भेन्टिलेटर सहितको आई.सि.यु. स्थापना हुनुपर्ने आवाज उठाएका छन् ।

माडी ५ का वडाध्यक्ष रामबन्धु पोखरेलले सामाजिक सञ्जालमार्फत स्वास्थ्य नै मानिसको सबैभन्दा ठुलो सम्पत्ति रहेको भन्दै जनताको जीउज्यानको सुरक्षाको लागि भेन्टिलेटर सहितको आई.सि.यु. राख्नुपर्ने जनाउनुभएको हो । त्यसैगरी माडी १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले तत्कालै बहुआयामिक प्रयोजन सहितको भेन्टिलेटर र आई.सि.यु.युक्त अस्पताल निर्माणमा जोड दिनुभएको छ । यसका लागि आवश्यक परे माडी नगरपालिकाले आर्थिक श्वेतपत्र नै जारी गर्न पनि पछि हट्नु नहुने उहाँको भनाई छ ।

माडी नगरपालिकाले लकडाउनको समयमा राहत वितरण, प्रवासमा रहेकाहरुको उद्धार, जनस्तरमा कोरोना संक्रमण बिरुद्धको सचेतना प्रवाह लगायतका काममा नेपालमै प्रशंसा हुने तहमा काम गरेको सर्बत्र चर्चा छ । यस्तो अवस्थामा माडीमा भेटिएका कोरोना संक्रमितहरुको उपचारका लागि माडीमै भेन्टिलेटर सहितको आई.सि.यु. स्थापना हुनुपर्ने आवाज उठेको हो ।

SwadeshPost