वागमती प्रदेश सरकारद्वारा माडीमा सडक, खानेपानी, सिंचाई र पर्यटनका योजनाहरु प्राथमिकतामा

325
SwadeshPost

वागमती प्रदेश सरकारले माडीमा सडक, खानेपानी, सिंचाई र पर्यटनका योजनाहरुलाई प्राथमिकतामा राखेको छ ।

प्रदेशले आगामी आर्थिक बर्ष २०७७/७८ मा सञ्चालित हुनेगरी माडीमा सिंचाई सुबिधाका लागि एउटा मझौला तथा तीनवटा साना योजनाहरु सार्वजनिक गरेको हो । यीमध्ये मगोई खोला सिंचाईका लागि ३ करोड बजेट विनियोजना गरिएको छ । त्यसैगरी माडी नगरपालिका वडा नं. २ मा चितही खोला सिंचाई योजनाका लागि १ करोड, घाँघर सिंचाई योजनाका लागि ५ लाख र रीउ बगहीँ सिंचाई योजना मर्मत कार्यका लागि २० लाख रुपैंया बजेट विनियोजन भएको छ ।

खानेपानीको सन्दर्भमा खरकट्टा शिवद्वार खानेपानी आयोजनाका लागि ५० लाख, गर्दी खानेपानी योजनाका लागि ९० लाख, बघौंडा खानेपानी आयोजनाका लागि ९० लाख र कल्याणपुर खानेपानी आयोजनाका लागि ३० लाख रुपैंया बजेट विनियोजन भएको छ । प्रदेशले आगामी आर्थिक बर्षका लागि माडी क्षेत्रमा १३ करोड ८७ लाख रुपैंयाका २२ वटा योजनाहरु सार्वजनिक गरेकोमा बाटो निर्माणसंगै खानेपानी र सिंचाईका कार्यक्रमहरु प्राथमिकतामा परेको देखिएको हो ।

बाटो निर्माण अन्तरगत प्रदेश सरकारले कल्याणपुर बजारदेखि शिवराजपुर जोड्ने बाटो निर्माणका लागि १० लाख, माडी ५स्थित शहरी स्वास्थ्य क्लिनिकबाट छरछरे शसस्त्र प्रहरी क्याम्पसम्म सडक कालोपत्रेका लागि ५ लाख, माडी ५कै रमाइलोडाँडा राधापुर सडक निर्माणका लागि ५ लाख र माडी २ मा पर्साचोकदेखि पूर्व बैराठ जाने बाटो कालोपत्रेका लागि ३० लाख रुपैंया विनियोजन गरेको छ । यसबाहेक सोमेश्वर सडक ढल निर्माणका लागि ३७ लाख पनि छुट्याइएको छ ।

त्यसैगरी पर्यटन विकास अन्तरगत माडी ६ स्थित पुष्पलाल मदन भण्डारी पुष्प बाटिका निर्माणका लागि ४० लाख, माडी ४ मा एकता स्तम्भ तथा सहीद पार्क निर्माणका लागि २५ लाख र रेडहिल पार्क तथा पिकनिक स्थल निर्माणका लागि ३० लाख विनियोजन भएको छ । त्यस्तै, कान्तिपुरस्थित सामुहिक खेतीका लागि ३० लाख र माडी ३ बघौंडामा कभर्ड हल निर्माणका लागि बहुबर्षिक क्रमागत बजेट अन्तरगत ३ करोड रकम पनि विनियोजन भएको प्रदेश नं. ३ ख का सांसद रामलाल महतोले जानकारी दिनुभयो ।

SwadeshPost