माडीमा ८८ करोड ७० लाख ३८ हजार रुपैंयाको बजेट प्रस्तावित

265
SwadeshPost

माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ८८ करोड ७० लाख ३८ हजार रुपैंयाको बजेट विनियोजन गरेको छ ।

यसमध्ये अन्तरसरकारी वित्तिय हस्तान्तरण अर्थात संघीय र प्रादेशिक सरकार तथा जिल्ला समन्वय समिति लगायतका निकायहरुबाट ६३ करोड ५१ लख ६८ हजार प्राप्त हुने नगरपालिकाको अपेक्षा छ । त्यसैगरी यसमा घरजग्गा रजिस्ट्रेशन शुल्कसमेत गरी कुल आन्तरिक आय २५ करोड १८ लाख ७० हजार रहने अनुमान गरिएको छ ।

नगरपालिकाले नगर पूर्वाधार विकासका लागि २५ करोड २९ लाख ५ हजार रुपैंया विनियोजन प्रस्ताव गरेको छ । उत्पादनशील क्षेत्र अन्तरगत कृषि तथा पशु स्वास्थ्य क्षेत्रमा रु ३ करोड, विदेशबाट नेपाल आएका युवाहरुलाई उत्पादनमुलक क्षेत्रमा लगाउन युवा लक्षित स्वरोजगारका लागि २ करोड ८ लाख ६५ हजार, पर्यटन र उद्योग विकासमा ८५ लाख र समग्र आर्थिक विकासमा २ करोड ९३ लाख ६५ हजार विनियोजन प्रस्ताव गरिएको छ ।

त्यसैगरी शिक्षातर्फ २१ करोड ९३ लाख ९२ हजार, स्वास्थ्यतर्फ ५ करोड ११ लाख ८५ हजार, बिपन्न तथा लक्षित समुदाय अन्तरगत २ करोड ८ लाख ६५ हजार, वातावरण सरसफाई र विपद व्यवस्थापनमा १ करोड, शुसासन, सेवा प्रवाह, कार्यालय सञ्चालन र संस्थागत विकासका लागि १७ करोड ५३ लाख ५ हजार र वडास्तरीय कार्यक्रमहरुका लागि ५ करोड विनियोजन प्रस्ताव गरिएको छ ।

युवा तथा खेलकुदका लागि समेत आवश्यकता अनुसार बजेट विनियोजन गरिने नगर उपप्रमुख ताराकुमारी काजी महतोद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम प्रस्तावमा उल्लेख गरिएको छ । नगरसभाले पारित गरेपश्चात आगामी आ.व.मा सो बजेट तथा कार्यक्रम कार्यान्वयनमा आउन सक्नेछ ।

SwadeshPost