बघौंडा अस्पतालमा अब गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा

267
SwadeshPost

चितवन । माडी नगरपालिकाले गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुलाई बघौंडा अस्पतालमा पुग्न र फर्किन नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । माडीको जुनसुकै स्थानबाट बसन्तपुरस्थित बघौंडा अस्पताल पुग्न गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुका निम्ति नि:शुल्क एम्बुलेन्स सेवा सुरु गर्न लागिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी आगामी आर्थिक बर्षमै संघीय तथा प्रादेशिक सरकारसँग समन्वय गरी बघाैंडा अस्पताललाई स्तरोन्नती गरी ५० शैयाका बनाईने उहाँको भनाई छ । सो अस्पतालमा २ बेडको आई.सि.यु. रहने नयाँ भवन निर्माण गर्ने तथा त्यहाँ विशेषज्ञ चिकित्सकको व्यवस्था र औजार उपकरणहरुका भरपर्दाे व्यवस्थापनमा जोड दिइने पनि उहाँले जनाउनुभयो । यसबाहेक अयोध्यापुरी स्वास्थ्य चौकी र अन्य स्वास्थ्य केन्द्रहरुको सेवा क्षेत्र विस्तार गर्ने पनि नगरपालिकाको योजना रहेको जनाइएको छ ।

नगरपालिकाले आउँदो आर्थिक बर्षमा स्वास्थ्य वीमा कार्यक्रमलाई थप ब्यवस्थित गर्ने, पूर्ण खोपयूक्त नगरपालिका सुनिश्चित गराउने, स्वास्थ्यका कम पहुुँच भएका बाँदरझुला लगायतका क्षेत्रहरुलाई लक्षित गरी एम्बुलेन्स सेवा संचालन गर्ने, समयमा नै औषधी तथा खोपका आपूर्ति व्यवस्थाको सुनिश्चित गरिने र नगरवासीलाइ निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।

SwadeshPost