गुणस्तरहीन सिमेन्टको प्रयोग भएको भन्दै पूर्वी माडीको रीउ नदीमा जारी पुल निर्माण कार्य रोकियाे

116
SwadeshPost

गुणस्तरहीन सिमेन्टको प्रयोग गरिएको भन्दै हुलाकी राजमार्ग परियोजनाका प्राविधिकले पूर्वी माडीको रीउ नदीमा जारी पुल निर्माण कार्य रोकिदिएका छन् ।

बर्षाका कारण भिजेर डल्ला परेको सिमेन्टको प्रयोग गरी निर्माणकार्य अगाडि बढाइरहेको भन्दै परियोजनाका तर्फबाट खटिएका सुपरभाइजरले निर्माणकार्यमा रोक लगाइएका हुन् । नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत सो पुल लुम्बिनी प्राकृतिक जे.भीे.ले निर्माणको ठेक्का पाएको हो ।

पुल निर्माणका लागि ठेकदार पक्षले केहि साताअघि ल्याएको करीब ६०० बोरा सिमेन्टमध्ये केहि बोरा भिज्न पुग्दा डल्ला परेको थियो । डल्ला परेको सिमेन्ट प्रयोग नगर्न दबाब आएपश्चात निर्माण पक्षले थप ३५० बोरा सिमेन्ट ल्याएर काम अगाडि बढाएको हो । तर पछि ल्याएको सिमेन्टमा पहिलेको डल्ला परेका सिमेन्ट पनि मिसाइएको ठेकदार पक्षलाई आरोप लागेको छ ।

ठेकदार पक्षले भने बिग्रिएको सिमेन्ट प्रयोग नगरिएको दाबी गरेको छ । स्वदेशसंग कुराकानी गर्दै फिल्डमा खटिएका एक अधिकारीले लकडाउनका कारण काम रोकिँदा पुल निर्माणको समयसीमा सकिन लागेकाले बर्षायाममै भएपनि निर्माण अगाडि बढाउनु परेको जनाए । स्थानीयबासीहरुलाई नै निर्माण काममा लगाइएकाले उनीहरुले निर्माण कार्यमा सम्झौता नगरी गुणस्तरमा ध्यान दिइरहेको निर्माण पक्षको दाबी जिकीर छ ।

SwadeshPost