चितवन वरपर लम्पी स्कीन डिजिज रोग फैलिएसंगै माडी न.पा.द्वारा गाईभैंसीको ओसार पोसारमा रोक

956
SwadeshPost

काप्रिपक्स नामक भाइरसका कारण गाई भैंसीमा देखिने लम्पी स्कीन डिजिज रोग चितवन र वरपरका क्षेत्रमा फैलिएसंगै माडी नगरपालिकाले गाई भैंसीको ओसार पोसारमा रोक लगाएको छ ।

खास उपचारविधी नहुने सरुवा प्रकृतिको सो रोगको संक्रमण फैलिन नदिन नगरपालिकाले माडी नगर क्षेत्रभित्र र बाहिर अर्को सुचना नहुँदासम्मका लागि गाईभैंसीको ओसार पोसार रोकेको हो । यस रोकका कारण गाडीमा राखी माडीबाट भरतपुर लैंजान लागिएका गाईभैंसीहरु माडी नै फर्काइएको छ ।

लम्पी स्कीन डिजिज रोग लाग्दा गाईभैंसीमा ज्वरो सहित शरीरको विभिन्न भागमा गाँठागुँठी देखिने, गाँठागुँठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दुध उत्पादन घटने र मृत्यु समेत हुनसक्ने माडी नगरपालिकाका पशुपंक्षी शाखा प्रमुख डा. रबिन बस्ताकोटीको भनाई छ । हालसम्म नेपालमा खोप उपलब्ध नरहेको यस रोगबाट गाईभैंसीलाई बचाउन संक्रमित क्षेत्रबाट गाईभैंसीको आवत जावत नियन्त्रण गर्ने, गोठ वरपरको वातावरण सफा राख्ने र लाम्खुट्टे, झिङ्गा, किर्ना आदि लाग्न नदिन पशु चिकित्सकहरुले सुझाव दिएका छन् ।

SwadeshPost