

हिँडडुल गर्न नसक्नेगरी थलिएर बिरामी परेकी माडी रतनी गाउँकी संगिता महतोको उपचार सहयोगार्थ अमेरिकास्थित थारु गोचाली समाजका सदस्यहरुले आर्थिक सहयोग गरेका छन् ।
काठमाडौंस्थित कृषि टेलिभिजनमा कार्यरत पत्रकार किशोर चौधरीको पहलमा संकलित ५७ हजार ८० रुपैंया, काठमाडौंमै रहेका माडीका युवा समाजसेवी युवराज घिमिरेमार्फत बिरामीको परिवारलाई प्रदान गरिएको हो । गतबर्ष चैत २० गते घरमै लडेर घाइते हुनुभएकी महतोको उपचारमै करीब ४ लाख रुपैंया सकिएपछि थप उपचार खर्चको अभावमा परिवार सदस्यहरुले उहाँलाई घरमै राखेका छन् ।
यसबारे मिडिया र सामाजिक सञ्जालमा खबर सार्वजनिक भएसंगै सहयोग अभियन्ताहरुले हाल उपचार खर्च जुटाउने अभियान चलाइरहेका छन् । विशेषतः युवा अभियन्ता अर्जुन भुसालले महतोको उपचार सहयोगार्थ स्वदेश तथा प्रवासमा सहयोग संकलन अभियानको अगुवाई गरिरहनुभएको छ ।


