माडी नगरपालिकाले छरछरेमा सञ्चालन गरेको आइसोलेशन सेन्टर जिल्लाभरीकै उत्कृष्ट

327
SwadeshPost

माडी नगरपालिकाले छरछरेमा सञ्चालन गरेको आइसोलेशन सेन्टर जिल्लाभरीकै उत्कृष्ट रहेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनुभएको छ ।

कोरोना संक्रमितहरुको एकान्तबास र उपचारका लागि माडी नगरपालिकाले माडी-५, छरछरेस्थित नवनिर्मित होमस्टे भवनमा आइसोलेशन सेन्टर स्थापना र व्यवस्थापन गरिरहेको छ । सो सेन्टरमा हाल ३ जना कोरोना संक्रमित र एक बच्चा गरी चारजना आइसोलेशनमा रहेका छन् । सो सेन्टरको अनुगमनका लागि सोमबार प्र.जि.अ. भट्टराईको नेतृत्वमा जिल्लास्तरीय टोली पुगेको थियो । अनुगमनका क्रममा प्र.जि.अ. भट्टराईले सेन्टरको सेवा सुबिधा, स्वास्थ्य र सुरक्षाको प्रबन्ध तथा अन्य व्यवस्थापन चितवनकै उत्कृष्ट रहेको जनाउनुभएको हो ।

अनुगमन टोलीमा प्र.जि.अ. भट्टराईसंगै सहायक प्र.जि.अ. नेत्र प्रसाद शर्मा, चितवनका प्रहरी प्रमुख एस.पी. नान्तीराज गुरुङ, सशस्त्र प्रहरी प्रमुख दिपक कुमार थापा, माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, ईलाका प्रशासन कार्यालय माडीका प्रमुख खोबराज सुवेदी, माडीका जनस्वास्थ्य संयोजक शिव प्रसाद सुवेदी, माडीका प्रहरी प्रमुख हर्क विश्वकर्मा र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट छरछरेका नवनियुक्त प्रमुख बेल बहादुर विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।

SwadeshPost