समयमै आई.सि.यु. सहितको उपचार नपाउँदा माडीकी एक महिलाको दुःखद मृत्यु

466
SwadeshPost

समयमै आई.सि.यु. सहितको उपचार नपाउँदा सिकल सेल एनिमियाकी बिरामी रहेकी माडीकी एक महिलाको दुःखद मृत्यु भएको छ ।

चिन्ताजनक अवस्थामा भरतपुरस्थित एक अस्पतालमा उपचारका लागि लगिनुभएकी माडी-१, चैनपुर निवासी बर्ष ३० की रेखा महतोको मृत्यु भएको हो । उपचारपूर्व कोरोना संक्रमण परीक्षण गर्नैपर्ने भन्दै अस्पतालले पि.सि.आर. बिधीबाट जाँच गरेकोमा रिपोर्ट आउन ढिलाई भएसंगै उपचारको थालनी चरणमै गएराती उहाँको मृत्यु भएको माडी-१ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले जनाउनुभयो ।

यसैबिच, मेडिकल शहरका रुपमा परिचित भएपनि चितवनका अस्पतालहरुले कोरोना कहरको नाउँमा घाइते र बिरामीहरुलाई पि.सि.आर. रिपोर्ट नआउँदासम्म सघन उपचार सेवाबाट बञ्चीत गर्ने गरेका छन् । चिन्ताजनक अवस्थामा रहेका घाइते र बिरामीहरुलाई पनि उपचार सुरु गर्नुअघि कोरोना परीक्षण गराइएको तर स्वाब परीक्षणको रिपोर्ट कुर्दाकुर्दै निकै ढिला हुने गरेको बिरामीका आफन्तहरुको भनाई छ । यस कारण केहि बिरामीहरुको हताहती र केहिको अवस्था झनै बिग्रने गरेको छ ।

SwadeshPost