धानबाली पसाउन सुरु गरेसंगै जंगली हात्तीको बथान माडीको गाउँघर खेतबारीमा छिर्न सुरु

381
SwadeshPost

किसानहरुको खेतमा धानबाली पसाउन सुरु गरेसंगै चितवन राष्ट्रिय निकुञ्जबाट निक्लेर जंगली हात्तीको बथान पुनः माडीको गाउँघर खेतबारीमा छिर्न सुरु गरेको छ ।

गएराती माडीको बनकट्टा बोटेटोलमा जंगली हात्ती आइपुगेसंगै गाउँलेहरु आतंकित भएका थिए । राती करीब ११ बजे बस्तीमा हात्ती छिरेलगत्तै सबै गाउँलेहरुले होहल्ला गर्दै हात्तीलाई लखेटेका थिए । त्यसपछि गाउँबाट फर्केको हात्तीले स्थानीयबासी आइतराम बोटलगायत ३ जनाको खेतको धानबाली विनाश गर्दै रीउ खोलातर्फ फर्किएको थियो । हात्तीले बनकट्टा, पाण्डबनगर, द्रौपतिनगर लगायतका गाउँहरुमा घर भत्काउने र मान्छेको ज्यानै लिने गरिआएकाले स्थानीयबासी त्रस्त रहँदै आएका छन् ।

यसैबिच, रातको समयमा उज्यालोका लागि माडी नगरपालिका वडा नं. १ अन्तरगत पाण्डवनगर तथा द्रौपतिनगर लगायतका गाउँहरुमा सडक बत्ती जडान भइसकेपनि बनकट्टा बोटेगाउँमा सडक बत्ती जडान हुन बाँकी रहेको छ । उज्यालो भएतिर जंगली हात्ती प्रायः नजाने भएकाले रातको समयमा सडक बत्तीले जनावरहरुको प्रवेश रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँलेहरु बताउँछन् । बोटेटोलमा पनि यथाशीघ्र सडक बत्ती जडान एवं सोलार फेन्स मर्मत गरिदिन स्थानीयबासीहरुले माग गरेका छन् ।

SwadeshPost