माडी नगरपालिकाद्वारा अयोध्या खोज अनुसन्धान समितिलाई आधिकारिकता प्रदान

318
SwadeshPost

माडी नगरपालिकाको कार्यपालिका बैठकले अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिलाई आधिकारिकता प्रदान गरेको छ ।

सोमबार बसेको कार्यपालिका बैठकले नारदमणि पौडेल नेतृत्वको सो समितिलाई औपचारिक पहिचान गर्दै अयोध्याधाम निर्माणका लागि समितिले प्रस्ताव गरेका स्थानहरु घाँघर, दक्षिण आयोध्यापुरी र गणेशगञ्जलाई सिफारिस गर्ने पनि निर्णय गरेको हो । समितिले माडी-८, दक्षिण अयोध्यापुरीस्थित ५० बिगाहा जमीन, माडी-९मा घाँघर खोला छेउको ५० बिगाहा भन्दा धेरै जमीन र माडी-९ कै गणेशकुञ्ज क्षेत्रमा रहेको करीब ५० बिगाहा जमीनमध्ये कुनै एकलाई छनौट गरी सम्बन्धित निकायमा निर्णयार्थ पेश गर्न माडी नगरपालिकालाई सिफारिस गरेको थियो । कार्यपालिका बैठकले पहिलो प्राथमिकतामा घाँघर, दोश्रो प्राथमिकतामा दक्षिण अयोध्यापुरी र तेश्रो प्राथमिकतामा गणेशकुञ्जलाई सिफारिस गरेको हो ।

त्यसैगरी बैठकले माडीमा स्थापना हुन लागेका सशस्त्र प्रहरी बलका थप ३ वटा बोर्डर आउट पोष्टहरुलाई स्वीकृति तथा आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । माडी-१, चैनपुर, माडी-६ लक्ष्मीनिवास र माडी-९, राइटोलमा तीनवटा नयाँ बि.ओ.पी. क्याम्पहरु निर्माण हुन लागेका हुन् । त्यस्तै, बैठकले नगरपालिकालाई पुनः शुन्य कोरोना संक्रमित क्षेत्रमा झार्न र कोभिड-१९ बाट माडी नगरबासीहरुलाई सुरक्षित राख्न थप स्रोत र साधनको ब्यवस्थापन गर्ने निर्णय समेत गरेको कार्यपालिका प्रवक्ता एवं वडाध्यक्ष शिवहरी सुबेदीले जानकारी दिनुभयो ।

SwadeshPost