थ्रिफेज लाइन नहुँदा शिवद्वार होमस्टेमा ए.सी. सञ्चालनमा आउन सकेन

805
SwadeshPost

माडीको शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेका आवास घरहरुमा ए.सी. जडान गरिएपनि थ्रिफेज लाइन नहुँदा सञ्चालनमा आउन सकेका छैनन् ।

होमस्टेमा रहेका १३ वटा घरका कुल २७ वटा कोठाहरुका लागि २७ वटै तथा सभाहल घरका लागि थप ४ वटा ए.सी. जडान पुरा भइसक्दा पनि थ्रिफेज विध्युत लाइन नपुग्दा सञ्चालनमा आउन नसकेको हो । हाल माडी-८, खरकट्टामा १०० के.भि.ए. क्षमताको ट्रान्सफर्मर रहेपनि त्यसले वरपरका गाउँहरुमा विजुली प्रवाह गरिरहेकाले एकैसाथ धेरैवटा ए.सी. चलाउन नसक्ने नेपाल विध्युत प्राधिकरणको माडी प्रशाखाले जनाएको छ । होमस्टेका सबै ए.सी.हरु चलाउन छुट्टै ट्रान्सफर्मर राख्नुपर्ने भन्दै प्रशाखाले निजी फर्म वा उद्योगहरुले ‘डेडिकेटेड ट्रान्सफर्मर’ राख्न आफैले लगानी गर्नुपर्ने बताएको छ ।

यसअघि, घरजग्गा व्यवसायी राज के.सी. र हाँस्य कलाकारहरु किरण के.सी. तथा सुरेन्द्र के.सी.को ‘ट्वन्टीवान ग्रुप प्रपर्टी डिलर्स’ले गतबर्ष चैतमा होमस्टेका कोठाहरुका लागि २७ वटा ए.सी. सहयोगस्वरुप उपलब्ध गराएको थियो । त्यस्तै, वागमती प्रदेश सरकारले सभाहलका लागि ४ वटा ए.सी. जडान गरिदिएको हो । सहयोग स्वरुप ए.सी. जडान भई वाइरिङको काम सकिएपनि बिजुली जडानमै खर्च लाग्ने भएसंगै होमस्टे व्यवस्थापनले आर्थिक श्रोतको खोजी गरिरहेको होमस्टेका अध्यक्ष मोहन बहादुर पुन मगरको भनाई छ ।

SwadeshPost