माडीभर करीब ९०० को संख्यामा बिपन्न परिवार आवास निर्माण हुने

609
SwadeshPost

चालू आर्थिक बर्षमा माडी नगरक्षेत्रभरी करीब ९०० संख्यामा बिपन्न र सुकुम्बासी परिवारको आवास निर्माण हुने भएको छ । माडी नगरपालिकाले बिपन्नताको परिचयपत्रका आधारमा तीन श्रेणीमा विभाजन गरी अति बिपन्न परिवारहरुका लागि घर बनाउने जनाएको हो ।

यस कार्यक्रम अन्तरगत कहिँकतै घरजग्गा नभएका सुकुम्बासी, अपांग, ज्येष्ठ नागरिक र असक्त परिवारहरुका लागि जस्तापाताले छाएको ३ कोठे घर निर्माण हुने जनाइएकोछ । त्यसैगरी, न्यूनतम् आय रहेका तर आर्थिक रुपमा कमजोर परिवारहरुलाई एकदिनमा निर्माण हुने टहरो बनाई बारबेरको लागि केहि रकम प्रदान गरिने योजना रहेको छ । त्यस्तै, केहि कठ्ठा जग्गा जमीन भएपनि खरको छानोयुक्त घर भएका परिवारहरुलाई जस्तापाता छाउने व्यवस्था गरिने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो ।

आवास निर्माणका लागि सघन शहरी विकास कार्यक्रमबाट गतबर्षको भुक्तानी हुन बाँकी रकम समेत गरी ३ करोड २५ लाख, वागमती प्रदेश सरकारको नमुना बस्ती विकास कार्यक्रमबाट १ करोड ५० लाख र प्रदेश सरकारकै निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट १ करोड विनियोजन भएको नगरप्रमुख ढकालले जानकारी दिनुभयो । संघीय सरकारको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट समेत १ करोड विनियोजनको प्रस्ताव गरिएको र नपुग रकम माडी नगरपालिकाले नै अति बिपन्न समुदायको बासस्थान निर्माण कार्यक्रमबाट थप गर्ने उहाँको भनाई छ ।

माडी नगरपालिकाले गतबर्ष जनता आवास कार्यक्रम अन्तरगत केहि घरहरु बनाएको थियो । तर राइटोल र परुई नदी किनारमा घर निर्माण जारी रहँदा बेनामे उजुरी र सर्बोच्च अदालतमा मुद्धा परेसंगै हाल आवास निर्माणको काम रोकिएको छ ।

SwadeshPost