माडी नगरक्षेत्रमा आइतबारबाट विद्यालयहरु नियमित रुपमा सञ्चालन हुँदै

440
SwadeshPost

माडी नगरपालिकामा भोलि (मंसिर ७ गते) आइतबारबाट विद्यालयहरु नियमित रुपमा सञ्चालन हुने भएका छन् ।

विद्यालय सञ्चालन गर्दा पर्याप्त होसियारी अपनाउन र कोरोना भाइरसबाट सुरक्षाका उपायहरु अपनाउन अनिवार्य गरिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो । यसअन्तरगत कक्षामा अधिकतम् २५ जनासम्म विद्यार्थी राख्ने, शिक्षकहरूले थर्मल गनमार्फत दैनिक रुपमा हरेक विद्यार्थीको ज्वरो परीक्षण गर्ने, साप्ताहिक रुपमा स्वास्थ्यकर्मीहरुले विद्यालयहरुको अनुगमन गरी विद्यार्थीहरुको स्वास्थ्य अवस्थाको जाँच गरिरहने भन्दै नगरप्रमुख ढकालले शिक्षक र विद्यार्थी सबैलाई मास्क र स्यानिटाइजर लगाउन अनिवार्य गरिएको पनि बताउनुभयो ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गतबर्ष चैत दोश्रो सातादेखि देशव्यापी लकडाउन गरेसंगै बन्द रहनगएका माडीका विद्यालयहरु करीब ९ महिनापछि औपचारिक रुपमा खुला हुन लागेका हुन् । लकडाउन र निशेधाज्ञाको अवधीमा नगरपालिकाको शिक्षा शाखाले रेडियो पाठशाला, कल सेन्टर र घरभेट प्रणालीका बैंकल्पिक माध्यमहरुबाट शिक्षण सिकाई अभ्यास गराएपनि विद्यार्थीहरु नियमित रुपमा स्कुलमै पोशाकसहित जम्मा भई पढ्न पाएका थिएनन् । यसअघि सरकारले विद्यालय पुनः सञ्चालन सम्बन्धी कार्यविधि तयार गरी कोरोनाको परिस्थितिबिच विद्यालय पुनः सञ्चालन गर्ने निर्णय गर्ने अधिकार स्थानीय निकायलाई नै सुम्पिएको थियो ।

SwadeshPost