जंगली हात्तीको आक्रमणबाट गएराती माडीको पाण्डवनगरमा एक कृषकको भान्साघर भत्किएको छ ।
माडी-१, पाण्डवनगर निवासी टंकबहादुर नेपालीको भान्साघरमा राती करीब १:३० बजे हात्तीले आक्रमण गरेको हो । आक्रमणबाट भान्साघर भत्किनुका साथै त्यहाँ राखिएका सामानहरुमा क्षती पुगेको स्थानीयबासी कृष्ण बहादुर पोखरेलले जानकारी दिनुभयो । समयमै गाउँलेहरुले हात्ती आएको जानकारी पाई होहल्ला गरेकाले हात्ती धपाउन सकिएको र थप जनधनको क्षती हुन नपरेको उहाँले जनाउनुभयो ।
हात्तीले गतबर्षबाटै पटक पटक गरी सो भान्साघरमा तेश्रोपटक आक्रमण गरेको हो । बनकट्टा क्षेत्रमा जनावरहरु छेक्न सोलार फेन्स लगाइएको छैन । राती पोलमा बालिने बत्तीको भरमै असुरक्षित तवरबाट बसोबास गर्नुपरेको स्थानीयको गुनासो छ । गएराती गाउँमै आएर बितण्डा मच्चाएको हात्ती केहि बर्षअघि दर्जनौंको ज्यान लिएको हिंश्रक ध्रुबेहात्ती नै रहेको स्थानीयबासीहरुको पहिचान छ ।