माडी मा.वि. र दिवाकर स्मृति विद्यालयबिच समायोजनबारे छलफल चल्दै

558
SwadeshPost

माडीकै ज्येष्ठ एवं अग्रणी शैक्षिक संस्था माडी मा.वि. र दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाबिच विद्यालय समायोजनबारे छलफल चलेको छ ।

भौतिक दुरी आधा किलोमिटर पनि नरहेका सो विद्यालयहरुमध्ये माडी मा.वि.मा कक्षा १२ सम्म तथा दिवाकर स्मृति विद्यालयमा कक्षा १० सम्मको पठनपाठन हनेगरेको छ । विद्यालय समायोजनका लागि लामो समयदेखि बन्द छलफल चल्दै आएकोमा हाल खुला बहस हुँदै प्रारम्भीक प्रक्रिया अगाडि बढेको हो । सोमेश्वर सार्वजनिक शैक्षिक गुठीमार्फन निजी क्षेत्रबाट स्थापित दिवाकर स्मृति विद्यालय र आधारभूत विद्यालय रमाइलोडाँडाबिच गत २०७५ जेष्ठमा समायोजन भई दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा कायम भएको थियो ।

यद्यपि समायोजनपछि विद्यालयको नाम के रहने बिषयमा भने विवाद कायमै छ । माडी मा.वि. पक्षले विद्यालयको इतिहास, उपलब्धी र भौतिक श्रोतसाधन लगायतका कारण विद्यालयको नाम माडी मा.वि. नै हुनुपर्ने जिकीर गरेको छ। दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा पक्षले भने भौतिक श्रोतसाधन, विद्यार्थी संख्या र ‘नामको पृष्ठभूमि’को बिषय महत्वका साथ उठाउने गरेको छ ।

यसैबिच, विद्यालय समायोजनको बहस चलिरँदा माडी मा.वि. बसन्तपुरले भोलि (बुधबार) दिउँसो १२ बजेदेखि वडास्तरीय शैक्षिक अन्तरक्रिया आयोजना गरेको छ । अन्तरक्रिया कार्यक्रममा माडी ३ ले विद्यालयलाई हेर्ने दृष्टिकोणका बिषयमा छलफल गर्ने भनिएपनि समायोजनको बिषयमै बहस केन्द्रीत हुनलागेको बुझिएको छ ।

SwadeshPost