बृद्धावस्थामा घरबारबिहीन माडीका ३ बृद्धबृद्धालाई उद्धार गरी मानवसेवा आश्रम पठाइँदै

379
SwadeshPost

चितवन । बृद्धावस्थामा घरबारबिहीन भई सडकमा जीवन बिताउन बाध्य माडीका ३ जना बृद्धबृद्धाहरुलाई उद्धार गरी मानवसेवा आश्रम पठाइँदैछ ।

माडीको बसन्तपुरमा विश्वास फार्मेसी नामको स्वास्थ्य संस्था सञ्चालन गरिरहनुभएका स्वास्थ्यकर्मी गोबिन्द नेपालको पहल र माडीका सुरक्षा निकायहरुको सहयोगमा ३ जना बृद्धबृद्धाहरुलाई उद्धार गरिएको हो । माडीको बाँदरमुढे, धोबाहा र बसन्तपुरबाट १ महिला र २ पुरुष बृद्धबृद्धाहरुलाई मानवसेवा आश्रम भरतपुरमा राख्नेगरी उद्धार गरिएको स्वास्थ्यकर्मी नेपालले जनाउनुभयो । उनीत्रयलाई माडीकै सामाजिक अभियन्ता अर्जुन भुसालमार्फत आश्रममा राखी स्याहार गर्ने व्यवस्था मिलाईएको नेपालको भनाई छ ।

चिसो र कठ्याङ्ग्रिदो रातको समयमा खुला आकाशमुनी बसेर अभाव र दुःखग्रस्त जीवन विताईरहेको अवस्थामा बृद्धबृद्धाहरु देख्दा दुःख लागेको भन्दै नेपालले आश्रममा सम्पर्क गर्नुभएको थियो । आश्रममा माडीका ३ जनासम्म राख्न मिल्ने जानकारी पाएसंगै माडीभरबाट घरबारबिहीन बृद्धबृद्धाहरुको खोजी गरिएको नेपालले बताउनुभयो ।

(फोटो: उद्धारमा पर्नुअघि बाँदरमुढे खोलानजिक बाँसको झाङमा आश्रयरत एक बृद्ध)

SwadeshPost