निर्माणाधीन हुलाकी मार्ग बाँदरझुलाको मानव बस्ती हुँदै बनाउन स्थानीयबासीको माग

ठोरीकोसम्म आइपुगेको बिजुली बाँदरझुलासम्म बिस्तार गरिनुपर्ने आवाज उठान

1.09K
SwadeshPost

चितवन । माडी ९, बाँदरझुलाबासीहरुले निर्माणाधीन हुलाकी मार्ग बाँदरझुलास्थित मानव बस्ती हुँदै निर्माण गर्न माग गरेका छन् ।

हाल नारायणगढ माडी ठोरी हुँदै वीरगंज जोड्ने हुलाकी मार्ग निर्माण जारी रहेको सन्दर्भमा बाँदरझुलाबासीहरुले हुलाकी मार्ग चितवन राष्ट्रिय निकुञ्जभित्रबाट निर्माण गर्नुभन्दा मानवबस्तीबाट बनाउन माग गरेका हुन् । निकुञ्जभित्र जंगली जनावरहरुको त्रास रहेको, बाटोको लम्बाई पनि धेरै हुनजाने र बाटो बनाउँदा अत्यधिक रुख कटानी गर्नुपर्ने अवस्था रहेकाले पर्सा (ठोरी)को चौताराबाट बाँदरझुला हुँदै माडीमा बाटो जोड्दा चौतर्फी राम्रो हुने उनीहरुको तर्क छ ।

बाँदरझुलाबासीहरुले माडी नगरपालिका मेयर र ठोरी गाउँपालिकाका अध्यक्षलाई एउटै मञ्चमा राखी एक अन्तरक्रिया कार्यक्रममार्फत सो माग गरेका हुन् । त्यसैगरी ठोरीको चौतारासम्म आइपुगेको बिजुली बाँदरझुलासम्म बिस्तार गर्न पनि उनीहरुहरुको माग थियो । अन्तरक्रिया कार्यक्रममा माडी र ठोरीका राजनैतिक दलका नेताहरु एवं स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा बोल्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले डि.पी.आर. अनुसार बनिरहेको हुलाकी बाटोको रुट बदल्न गाह्रो हुने भन्दै मानवबस्ती हुँदै अर्को बाटो बनाउन सकिने र यसका लागि मन्त्रालय र माथिल्लो तहसम्म पहल गर्ने आश्वासन दिनुभयो । अर्कोतर्फ ठोरी १, चौतारामा ट्रान्सफर्मर राखी बाँदरझुलासम्म बिजुली पठाउन सकिने ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठको भनाई थियो । अन्तरक्रिया कार्यक्रम बाँदरझुला सुकुम्बासी संघर्ष समितिको आयोजनामा सम्पन्न भएको हो ।

SwadeshPost