पश्चिमी चितवनमा चित्तल मारेर खाँदै गरेका सात जना पक्राउ, कारवाही प्रकृया जारी

843
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जले चित्तल मारेर खाँदै गरेका सात जनालाई पक्राउ गरेको छ ।

निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-२३ बस्ने ४९ वर्षीय शुकबहादुर दरै, ४२ वर्षीय चन्द्रप्रसाद दरै, २८ वर्षीय दीपक दरै, सन्तकुमार दरै, ६० वर्षीय बुद्धिबहादुर दरै, २८ वर्षीया सुकमाया दरै र ५० वर्षीया शान्ति दरै रहेका छन् ।

उनीहरुको साथबाट ३० किलो चित्तलको मासु, तीन वटा डेक्ची, एउटा कराही, दुई वटा स्टिलको बाटा, एउटा स्टिलको बाबल, एउटा अचानो, एउटा खुँडा, एक थान मासु सुकाउने जाली र दुई वटा प्लाष्टिकका बोरासमेत बरामद गरिएको अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई सोमबार राति ११ बजेको समयमा चित्तल काटेर खाँदै गरेको अवस्थामा निकुञ्ज र सेनाको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध आवश्यक कानुनी कारवाही अगाडि बढाइएको निकुञ्जले जनाएको छ । रासस

SwadeshPost