सरकारले तोकेभन्दा बढी पिसीआर शुल्क असुलेका चितवनका दुइ अस्पताल कारबाहीमा

531
SwadeshPost

चितवन । नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ ।

नेपाल सरकारले पिसीआर गरेको रु दुई हजार शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विरुद्ध गुनासो दर्ता भएको थियो । प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजका सञ्चालकहरूसँग बयान लिएको थियो ।

यी दुई अस्पतालले सरकारले तोकेकोभन्दा रु ५०० बढी शुल्क लिएर कोभिड–१९ को पिसीआर परीक्षण गराइरहेको गुनासो प्रशासन कार्यालयमा दर्ता भएपछि अनुसन्धान शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । दुबै अस्पताललाई कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन-२०३२ अनुसार मुद्दा दर्ता गरेर कारबाही शुरू गरिएको थियो । बयानका क्रममा दुवै अस्पतालका सञ्चालकहरुले बढी शुल्क लिएको स्वीकार गरेको प्रशासनले जनाएको छ । उनीहरुलाई मुद्दा पुर्पक्षको लागि थुनछेक आदेशपछि धरौटी निर्धारण गरिएको हो । (रासस)

SwadeshPost