प्रतिनिधिसभा विघटनको बिरोधमा माडीका युवा विद्यार्थीहरुद्वारा सडक प्रदर्शन

555
SwadeshPost

चितवन । सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेको बिरोधमा माडीका युवा विद्यार्थीहरुले सडक प्रदर्शन गरेका छन् ।

अनेरास्वबियु माडी क्याम्पस ईकाई समितिको आयोजनामा क्याम्पसमा अध्ययनरत युवा र विद्यार्थीहरुले माडीको बसन्तपुरमा -यालीसहित नाराबाजी गरेका हुन् । प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदम चालेको भन्दै उनीहरुले ‘के.पी. तिम्रो पाराले, दुःख पाए साराले’, ‘के.पी. एण्ड कम्पनी मुर्दाबाद’, ‘एकलौटी शासन बन्द गर’, ‘गैरसंवैधानिक कदम खारेज गर’ जस्ता नारा लगाउँदै विरोध जनाएका थिए ।

यसअघि, प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधीसभा विघटन गरी ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोक्नुभएको छ । तर संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् भने सत्तारुढ नेकपाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष कांग्रेसको पदाधिकारी बैठक र राप्रपाको कार्य व्यवस्थापन समिति बैठकले समेत प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।

SwadeshPost