निकुञ्ज प्रशासनले गैंडा तस्करीको आरोपमा माडीबाट एकजनालाई पक्राउ

340
SwadeshPost

२३ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गैंडा तस्करीको आरोपमा माडीबाट एकजनालाई पक्राउ गरेको छ ।

गैंडा तस्करीको आरोपमा माडी नगरपालिका – ५ का ४८ वर्षीय शनिचरा महतोलाई १५ वर्षपछि पक्राउ गरेको हो । विसं २०६२ असारमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएकोमा १५ वर्षपछि पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जनाउनुभयो । उनको मुद्दा विसं २०६४ पुस २० गते फैसला भई १५ वर्ष कैद र रु एक लाख जरिवाना तोकिएको थियो ।

फरार रहेका अवस्थामा माडीको पिपरियाबाट उनलाई पक्राउ गरिएको हो । उनी विसं २०६२ सालमा निकुञ्जको भित्री ईलाका भालुटापुमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको निकुञ्जले दाबी गरेको छ । उनले भारतबाट अत्याधुनिक हतियार खरिद गरी गैँडा मार्ने कार्यमा सहयोग गर्नुका साथै खाग बिक्रीमा संलग्न भएको पाइएको निकुञ्जले जनाएको छ । महतो पक्राउ पर्नुलाई निकुञ्ज अधिकारीले ठूलो सफलताका रुपमा लिएको बताएका छन् ।

SwadeshPost