माडीका जनप्रतिनिधी र कर्मचारीहरुले स्वेच्छिक सहयोग गरी एम्बुलेन्स सञ्चालन गर्ने

389
SwadeshPost

१४ पुस, चितवन । माडी नगरपालिकाका जनप्रतिनिधी र नगरपालिका मातहतका कर्मचारी, शिक्षक एवं स्वास्थ्यकर्मीहरुले स्वेच्छिक सहयोग रकम संकलन गरी एम्बुलेन्स सञ्चालन गर्ने भएका छन् ।

नि:शुल्क वा स्वेच्छिक सहयोग रकम लिई सञ्चालन गर्ने उद्देश्य राखिएको सो एम्बुलेन्स खरिदका लागि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले १ महिना तलब प्रदान गर्ने घोषणा गर्नुभएको छ । त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, नगर जनस्वास्थ्य संयोजक शिव सुवेदी र कार्यपालिकाका प्रवक्ता शिवहरि सुवेदीले पनि १/१ महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

एम्बुलेन्सका लागि माडी ६ का वडाध्यक्ष भरत बहादुर गुरुङ्गले २ महिनाको तलब प्रदान गर्ने जनाउनुभएको छ भने अन्य जनप्रतिनिधी तथा कर्मचारीहरुले सहयोग रकम बोल्ने क्रम जारी रहेको छ । नगरपालिकाको छैठौं नगरसभाका क्रममा जनप्रतिधी र कर्मचारीहरुले सहयोग संकलन मार्फत एम्बुलेन्स खरिद गरी नि:शुल्क वा स्वेच्छिक सहयोग रकम लिएर चलाउने सहमती गरेका थिए ।

SwadeshPost