निर्माणाधीन रामधाममा राख्नका लागि काठमाडाैंमा श्रीराम र सीताको मुर्ती तयार

599
SwadeshPost

२५ माघ, चितवन । माडीको कृष्णनगर पार्कमा निर्माणाधीन अयोध्या (राम) धाममा राख्नका लागि काठमाडाैंमा श्रीराम र सीताको मुर्ती तयार भएको छ ।

शनिवार प्रधानमन्त्री के.पी. ओलीसंग भेटसम्वादमा पुगेको माडीको प्रतिनिधीमण्डलले प्रधानमन्त्री ओलीसहित पुगेर श्रीराम र सीताको मुर्तीको अवलोकन गरेको हो । लाइफ साइजमा निर्माण भएका मुर्तीहरु श्याम वर्णका रहेका छन् । यसअघि भरतपुरमा सम्पन्न एक सभामा बोल्दै प्रधानमन्त्री ओलीले राम र सीताको मुर्ती बनिसकेको र अन्य मुर्तीहरु निर्माणको चरणमा रहेको बताउनुभएको थियो । आगामी बर्षको रामनवमीमा प्राणप्रतिष्ठा गरी मुर्ती स्थापना र रामधामको शिलान्यास गरिने प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीसंगको भेटमा माडीको प्रतिनिधीमण्डलले चितवन राष्ट्रिय निकुञ्ज, बाँदरझुला बस्ती व्यवस्थापन, रीउ करिडोर निर्माण र अयोध्याधामको बिषयमा छलफल गरेको थियो । छलफलमा प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको माडी नगरपालिकाका प्रवक्ता तथा प्रतिनिधीमण्डलका एक सदस्य शिवहरि सुवेदीले जनाउनुभयो ।

SwadeshPost