माडी नगरपालिकाले पूर्व सहमती बिपरित शैक्षिक बर्ष नसकिँदै विद्यार्थीहरुको सरुवा

452
SwadeshPost

९ फागुन, चितवन । माडी नगरपालिकाले पूर्व सहमती बिपरित शैक्षिक बर्ष नसकिँदै भैरवपुर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सरुवा गरेको छ ।माडी २ भैरवपुरस्थित सो विद्यालयमा कक्षा ४ देखि ८ सम्म अध्ययनरत ६९ जना विद्यार्थीहरु परीक्षाको सम्मुखमा सोमेश्वर माध्यमिक विद्यालय बरुवामा सरुवा गरिएका हुन् । विद्यार्थीहरुलाई आइतबार माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकाल र वडाध्यक्ष ईश्वरी प्रसाद ढकालसंगै विद्यालय परिवारबाट फूलमाला सहित बिदाई गरिएको छ भने सोमेश्वर माध्यमिक विद्यालयले स्वागत गरेको छ ।यसअघि, चालू शैक्षिक सत्रमा भैरवपुर आधारभूत विद्यालयमै पठनपाठन गरी आगामी शैक्षिक बर्षमा विद्यालय भवन दिवाकर स्मृति प्राविधिक शिक्षालयलाई प्रदान गर्ने सहमती भएको थियो ।

विद्यालय परिवार, अभिभावक र नगरपालिकाबिच बनेको सो सहमती बिपरित नगरपालिकाले शैक्षिक बर्ष नसकिँदै अन्तिम परीक्षाको सम्मुखमा विद्यार्थीहरुको सरुवा गरिदिएको हो ।कक्षा ४ भन्दा माथिल्ला कक्षाका विद्यार्थीहरु सरुवा भएपनि कक्षा ३ सम्मका ९० जना विद्यार्थीहरु भने चालू शैक्षिक सत्रभरी भैरवपुरमै पठन पाठन गर्नेछन् । आगामि शैक्षिक बर्षको सुरुवातसंगै उनीहरु पनि सोमेश्वर मा.वि.मा सरुवा भई विद्यालय बन्द हुनेछ भने विद्यालयको भवनमा शिक्षालयका कक्षाहरू सञ्चालन हुनेछन् ।

SwadeshPost