चन्द्रकान्त सर मेराे अन्तरहृदयले अत्यन्तै श्रद्धाका साथ सम्झने नाम हाे । उहाँलाई जब सम्झन्छु म बाल्यकालमा पुग्छु । धुलीमाटी खेलाउँछु अनि हाडेखरी र कालाे पाटी बाेकेर माडी बसन्तपुरस्थित हुलाक घरकाे एउटा काेठामा पुग्छु जहाँ झ्वाम्म दारी पालेकाे हातभरि मसि लतपतिएकाे एउटा हँसिलाे मान्छे महरूलाइ पर्खेर बसेका हुन्थे । सायद म ४ बर्षकाे हुँदाे हुँ, खरीले पाटीमा केर्दा ज्ञानी बाबुले माडीबाट भरतपुर पुग्ने बाटाे बनाए भनेर सरले भनेपछि मन खुशी भएर पाटीमा केरिरहें, त्याे दिन देखिकाे केराइ अहिले पनि जारी छ । मात्र फरक छ त खरी र पाटीकाे ठाउँमा कापी कलम अनि चन्द्रकान्त सरकाे ठाउँमा उहाँकै प्रेरणा ।
शिक्षाप्रमी चन्द्रकान्त सरले न कहिल्यै तिम्रा बाबु नानीलाइ पढाएँ पारिश्रमिक चाहियाे भनेर अभिभावक संग गुनासाे गर्नुभयाे, नत मलाइ जागीर चाहियाे भनेर सरकार संग माग गर्नुभयाे । न विद्यार्थी थाेरै भए भनेर पढाउन छाेड्नु भयाे न त विद्यार्थी धेरै भए भनेर झण्झट मान्नु भयाे । जहाँ पुग्दा दुइचारजना विद्यार्थी खेलेकाे देख्नुहुन्थ्याे उनीहरूलाइ फकाएर पढाउन सुरू गरिहाल्नु हुन्थ्याे । उहाँलाइ कुनै कक्षा काेठा चाहिंदैनथ्याे, कुनै दरबन्दी चाहिंदैनथ्याे अनि तलब पनि ।
चन्द्रकान्त सरले पढाउन पाएपछि घरकाे काम बितेकाे पत्तै पाउनु हुन्थेन अनि भाेक तिर्खा पनि भुल्नुहुन्थ्याे । जुन गाउँ पुग्नु हुन्थ्याे त्यहीं केटाकेटी जम्मा गरेर पढाउन सुरू गरिहाल्नु हुन्थ्याे । केही समय दुइचार महिना सर देखिनुहुन्थेन, कहाँ जानुभयाे हाेला जस्ताे लाग्थ्याे । त्यति बेला उहाँ आफ्नाे पहाड घर पर्वत पुगेर शिक्षाकाे ज्याेति छरिरहेकाे हुनुहुँदाे रहेछ ।
विवाह बन्धनमा बाँधिएपछि हामी श्रीमान्-श्रीमतीले संगै चन्द्रकान्त सरलाइ भेट्याैं , दुबैले सरलाइ नमस्कार गर्याैं मैले सरलाइ चिनाउन खाेजें उनले उछिनेर चिनाउन खाेजिन । एकैछनमा थाहा भयाे हामी दुबैजना सरका बिद्यार्थी रहेछाैं । पर्वत उरामपाेखरा स्थित श्रीचन्द्र मा.वि. जहाँ मेरी श्रीमतीले अध्ययन गरिन, उनै चन्द्रकान्त सरकाे नाममा स्थापना भएकाे विद्यालय पाे रहेछ त्याे । बुझ्दैजाँदा छिमेकी गाउँका एक दुइवटा विद्यालय चन्द्रकान्त सरले सुरूवात गरेर स्थापना भएका चन्द्र मा.वि भएकाे थाहा पाउँदा उहाँप्रति श्रद्धाले शिर निहुरियाे मेराे ।
चन्द्रकान्त सरले अत्यन्तै सरल किसिमले हाँसिहाँसी पढाउनुहुन्थ्याे । विद्यार्थीसंग कहिल्यै झर्कनु भएन । नत कहिल्ये हातमा छडी लिनु भयाे नत रिसाएर फन्कनु भयाे । मात्र हाँसी हाँसी खेलाएर पढाउनु भयाे । यतिबेला गाउँ सहरमा मन्टेश्वरीकाे नाम चर्चामा छ । मत भन्छु विद्यार्थीलाइ खुशी पारेर पढाउने तरिकाकाे नाम चन्द्रकान्त बिधि हाे । यसकाे प्रारम्भ चन्द्रकान्त सरबाट भएकाे हुँदा यसकाे श्रेय पनि उहाँले पाउनु पर्छ ।
शैक्षिक जगतलाइ नियाल्ने हाे भने चन्द्रकान्त सर कुनै व्यक्ति नभएर सिङ्गाे सस्था हाे । याे संस्थाकाे खाेजी हुनु जरूरी छ । अनि उहाँकाे काम अनि अथक प्रयासकाे मूल्याङ्कन हुन जरूरी छ । हुन त महाविर पुन, अनुराधा काेइराला, पुष्पा बस्नेतहरूलाइ त अन्तर्राष्ट्रिय जगतले खाेजिदिनु पर्छ भने चन्द्रकान्त सर ओझेलमा पर्नु स्वभाविकै हाे । एकदिन पक्कै पनि चन्द्रकान्त सरकाे खाेजि हुनेछ । उहाँकाे क्षमता अनि कामकाे मूल्याङ्कन हुने छ र चन्द्रकान्त विधिकाे प्रयाेग हुनेछ । (धर्म भुर्तेलको ब्लग पेजबाट सम्पादनसहित साभार)