१२ श्रावण, चितवन । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अयोध्याधामको प्रचार-प्रसार गरी यसलाई प्रसिद्ध धार्मिक पर्यटनस्थल बनाउन माडीबासीकै जिम्मेवारी रहेको बताउनुभएको छ ।
शनिवार अयोध्याधाममा अवलोकन एवं पूजाका लागि भारतको दिल्ली, सिवान, ऋषिकेश लगायतका शहरका धार्मिक योगीहरु र पीठाधीश सहित माडी आउनुभएका मेयर सिंहले राम मन्दिर बनाएसंगै यसको प्रचार-प्रसारमा लाग्न माडी नगर र नगरवासीमा अनुरोध गर्नुभयो ।
अयोध्याधामको वरपर योगीहरुको अखडा (पूजास्थल) बनाउन उहाँको सुझाव थियो । हालको १०० बिगाहा जमीन अयोध्याधामका लागि कम हुने बिचार राख्दै मेयर सिंहले धार्मिक नगरका रुपमा विकास गरिरहिएको बीरगंजलाई अर्को धार्मिक शहर माडी र यहाँका धार्मिक स्थलहरुसंग जोड्न चाहेको पनि बताउनुभयो ।
अयोध्याधाम दर्शनका लागि शनिवार दिउँसो माडी आउनुभएका भारतीय धार्मिक योगीहरुसहित मेयर सिंहको टोलीलाई माडी नगरप्रमुख ताराकुमारी काजी महतो र अयोध्याधाम पूजा व्यवस्थापन समितिले स्वागत गरेको थियो ।