

माडी, चितवन । सशस्त्र प्रहरी बल १७ नं. गण आँपटारीको आयोजनामा माडीका सरोकारवालाहरुसंग सीमा सुरक्षा र सीमावर्ती अपराध सम्बन्धी छलफल अन्तरक्रिया भएको छ । सशस्त्र प्रहरी उपरीक्षक राजेश खरेलको विशेष उपस्थितिमा सम्पन्न छलफलमा माडी नगरप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरु, ईलाका प्रहरी कार्यालय माडी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

छलफलमा सीमा सुरक्षाको वर्तमान अवस्था समस्या र चुनौतीहरु एवं दशगजा तथा सीमा स्तम्भहरुको अवस्था र सुरक्षाबारे चर्चा भएको थियो । त्यस्तै, अन्तर्राष्ट्रिय अपराधहरुको अवस्था र रोकथामका उपाय, सीमा क्षेत्रबाट हुने अवैध चोरीनिकाशी पैठारीको अवस्था र रोकथामको लागि गर्नुपर्ने प्रयास, सीमा क्षेत्रका बासिन्दाहरुको सुरक्षा अवस्थालाई व्यवस्थित गर्न चाल्नुपर्ने उपाय, पर्यटक एवं धार्मिक पर्यटकहरुको आवतजावतमा सहजिकरण एवं मानव बेचबिखन नियन्त्रण तथा तेश्रो मुलुकबाट हुने आवतजावत नियन्त्रण सम्बन्धमा आपसी सहयोग र समन्वय बढाउन छलफल अन्तरक्रिया भएको हो ।

कार्यक्रममा माडीका सरोकारवालाहरुले सीमा क्षेत्र रहेका कारण सोमेश्वरगढीमा भौतिक निर्माण गर्न नपाएको, केहि दशगजा हात्तीले भत्काएको र सीमापार मानव बेचविखन सम्बन्धी समस्या कायमै रहेको जस्ता बिषय उठान गरेका थिए । त्यस्तै सशस्त्र प्रहरी उपरीक्षक खरेलले सरोकारवालाबाट उठेका प्रश्नहरुमा जवाफ दिँदै सहभागिताका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।
