

माडी, चितवन । नेकपा माओवादी केन्द्र माडी नगरका नवनिर्वाचित अध्यक्ष भरत तिमिल्सिनाले आफ्नो नेतृत्वमा माडीको माओवादी पार्टीलाई विगत २०६३ सालको जस्तै बनाउने बताउनुभएको छ ।

नगर समिति अध्यक्ष निर्वाचित भएसंगै स्वदेश एफ.एम.को कार्यक्रम समय सन्दर्भमा बोल्दै तिमिल्सिनाले सो कुरा बताउनुभएको हो । आफूले नयाँ र फरक ढंगले काम गर्ने बताउँदै उहाँले माडीलाई मणि बनाउने सपना साकार पार्न सबै पार्टीका नेताहरु एवं आम जनतालाई एकताबद्ध हुन आह्वान समेत गर्नुभयो ।

नगर सम्मेलनपछि नेताहरुको व्यस्तता र आफ्नो स्वास्थ्य समस्याका कारण पदाधिकारी चयन गर्न ढिलाई भएको बताउँदै उहाँले अब माडीको पार्टीभित्र विवाद बाँकी नरहेको र राम्रो नगर समिति चयन भएको बताउनुभयो । पार्टीमा समस्या देखिए त्यसलाई बढ्न नदिन, एकताबद्ध हुन, नेतृत्वलाई सहयोग गर्न र साना बिषयहरुमा नअल्झिन उहाँले आम नगर पार्टीपंक्तिलाई अनुरोध समेत गर्नुभयो ।

पार्टीले समानुपातिक समावेशी कार्यसमिति बनाउनुपर्ने, लामो राजनैतिक योगदान भएकाहरुलाई ल्याउनुपर्ने तथा भूगोल समेट्नुपर्ने अवस्थाबिच केहि नेताहरु नगर पदाधिकारीमा छुटेको उहाँको भनाई थियो । युवा नेताद्वय रामबन्धु पोखरेल र सन्तोष पनेरुले जिम्मेवार बन्दै त्याग गरेको र आफूलाई निकै सहयोग गरेको उहाँले बताउनुभयो ।