चितवन खबर पोष्ट

माडी क्षेत्रमा घरपालुवा र सडक कुकुर एवं अन्य पशुहरुमा रेबिज संक्रमण उच्च, सजगता जरूरी

चितवन, माडी – माडी क्षेत्रमा घरपालुवा र सडक कुकुर एवं अन्य पशुहरुमा रेबिज संक्रमण निकै बढेको पाइएको छ ।

पछिल्लो २ साताको अवधीमा रेबिज लक्षणसहितको संक्रमणकै कारण कुकुर र अन्य पशु चौपाया गरी करीब एक दर्जनको मृत्यु भइसकेको छ । रेबिज संक्रमण भएका कुकुरहरुले पशु चौपायासंगै मानिसहरुलाई समेत टोक्ने गरेका छन् ।

हालैमात्र बरुवा बजारमा रेबिजको लक्षण देखिएको कुकुरले केहि मानिस र अन्य कुकुरहरुलाइ टोकेसंगै रेबिज बिरुद्धको खोप अभियान चलाइएको थियो । त्यस्तो अभियान माडीका अन्य स्थानहरुमा समेत आवश्यक रहेको भनी माग उठिरहेको छ ।

रेबिज संक्रमणयुक्त जनावरको टोकाइबाट सर्ने प्राणघातक रोग रेबिजबाट बच्न कुकुरलगायत घरपालुवा जनावरलाई जथाभावी सडकमा छाड्नु हुँदैन । त्यस्तै, घरपालुवा जनावरलाई नियमित रूपमा रेबिजविरुद्धको खोप लगाउने, टोकेको घाउ साबुनपानीले कम्तीमा १५ मिनेट धुने र तत्काल प्राथमिक उपचार गर्ने, टोकिएको व्यक्तिले अस्पतालमा गई रेबिजविरुद्धको खोप लगाउने तथा कुकुरलाई जिस्क्याउने वा चलाउने नगर्ने जस्ता उपाय अपनाउन विज्ञहरू सुझाउँछन् ।

यसैबिच, माडी नगरपालिका-१ स्थित बरुवा बजार क्षेत्रमा रेबिजको आशंका देखिएपछि कुकुरहरूलाई रेबिज विरुद्धको खोप लगाइएको छ । बजार क्षेत्रमै देखिएको एक कुकुरले २-३ जना मानिस र अरू कुकुरहरूलाई टोकेको जानकारी प्राप्त भएपछि उक्त कुकुर र त्यससँग सम्पर्कमा आएका अन्य कुकुरहरूलाई पनि समातेर खोप लगाइएको हो ।

स्थिति गम्भीर हुनसक्ने देखिएपछि पशु सेवा केन्द्र माडीको सहयोगमा बजार व्यवस्थापन समिति बरुवा र स्टार स्पोर्ट्स क्लबको पहलमा खोप लगाइएको स्थानीय युवा टीकाराम सुवेदीले जानकारी दिनुभयो । क्लबका सदस्यहरू, बजार व्यवस्थापन टोली र पशु सेवा केन्द्रका प्राविधिकहरूले कुकुरहरू समातेर सुरक्षित रूपमा भ्याक्सिन लगाएका हुन ।

तपाईको प्रतिक्रिया

ताजा समाचार