

माडी, चितवन । गएराती माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडाउनुका साथै विभिन्न ठाउँमा क्षति पुगेको छ ।
राती करीब ८ बजे पूर्वी भेगबाट माडीमा प्रवेश गरेको हावाहुण्डरीले माडी-३, बसन्तपुर बजार निवासी तुलसी आचार्यको घरको छानो उडाएको छ । त्यसैगरी माडी-२, भैरवपुर निवासी हरिभक्त श्रेष्ठको गाईगोठको जस्ता उठाएको छ भने माडी-८, खरकट्टा निवासी गोपाल सार्कीको घरसहित छानो उडाएको छ ।

यसैगरी सोमेश्वर माध्यमिक विद्यालयको बालकक्षाको नवनिर्मित ट्रस र पार्किङ स्ट्याण्डको छानो उडाउनुका साथै चौतारी भत्किन पुगेको छ । यसबाहेक माडी-३, बघौंडा गाउँमा २ वटा घरको छानो उडाएको छ (घटनास्थलमा प्रहरी पुग्न बाँकी) ।

यस्तै स्वदेश एफ.एम.को टावरमा जोडिएको रेडियो यन्त्रमा समेत क्षती पुगेको छ । तीव्र गतिमा चलेको हावाहुरीले कयौं स्थानमा बिजुलीको पोल ढलेका छन् भने रूखहरु भाँचिएको हाम्रा सम्वाददाताहरुले जनाएका छन् ।