

माडी, चितवन । लामो समयदेखि बन्द अवस्थामा रहेको कृष्णनगर दुग्ध डेरी पुनः सञ्चालनमा आएको छ । माडी नगरपालिका वडा नं. ९ वडा कार्यालयले किसानहरूलाई गाई किन्न ५० प्रतिशत अनुदान र डेरी पुनर्सञ्चालनका लागि सहयोग गरेसंगै बर्षौदेखि बन्द रहेको डेरीले पुनः जीवन पाएको हो ।
स्थापनाकालमा राम्रैसंग सञ्चालनमा रहेको डेरी समयक्रममा सुस्ताउँदै गएर अन्ततः बन्द भएको थियो । तर हाल वडाध्यक्ष घनश्याम दवाडीको अगुवाई एवं डेरी सञ्चालक र स्थानीय दुध किसानहरूबीचको सहकार्य र छलफलपछि पुनः डेरी सञ्चालनमा ल्याइएको हो ।

डेरी पुनर्सञ्चालन हुँदैगर्दा वडाध्यक्ष दवाडीले दुध किसानहरूलाई गाई किन्नको लागि ५० प्रतिशत अनुदान स्वरूप रकम हस्तान्तरण समेत गर्नुभयो । डेरी पुनःसञ्चालनसँगै किसानहरूमा नयाँ आशा पलाएको छ भने दुध उत्पादन गर्ने कृषकहरू उत्साहित भएको बताएका छन् ।
