

माडी, चितवन । नेपाल विध्युत प्राधिकरण चनौली वितरण केन्द्रले सिंचाई मोटरपम्पहरु चल्दा बिजुलीको लोड बढी भएकाले बिजुली अनियमित भएको जनाएको छ । किसानहरुले सिंचाई मोटर पम्पहरु चलाउँदा लोड अत्यधिक बढेसंगै ओभरलोड हुनगएको भन्दै केन्द्रले पानी परेका दिनहरुमा मोटर नचलाइदिन अनुरोध समेत गरेको छ ।
पछिल्ला केही दिनदेखि पानी नपरेकाले तापक्रम अत्यधिक बढेको अवस्थामा यसैपनि लोड उच्च रहेकोमा सिंचाइका लागि मोटरहरूको प्रयोग बढ्दा बसेनी र चनौली सबस्टेशनमा लोड बढेको केन्द्रले जनाएको हो । बिजुली अनियमित र अवरुद्ध हुनेगरेकोप्रति क्षमायाचना गर्दै केन्द्रले यो समस्याको निदानका लागि विध्युत उपभोक्ताहरुको सहयोग र सहकार्यको अपेक्षा समेत गरेको छ ।

माडीको सन्दर्भमा बसन्तपुर बजारबाट पूर्वतर्फ एकवटा र पश्चिमतर्फ अर्को एकवटा फिडर सञ्चालनमा रहेकोमा बिजुली ओभरलोड हुँदा केहि समय पूर्वी (कल्याणपुर फिडर) र त्यसपछि केहि समय पश्चिमी (बसन्तपुर फिडर) सट डाउन गरी लोड व्यालेन्स गरेर बिजुली सुचारू राख्ने प्रयास हुने गरेको प्राविधिकहरु बताउँछन् ।
