चितवन खबर पोष्ट

माडी नगरपालिकाका प्रमुख पर्यटकीय स्थलहरुमा स्वदेशी र विदेशी नागरिकहरुलाई प्रवेश शुल्क लागु

माडी, चितवन । माडी नगरपालिकाले नगर क्षेत्रका प्रमुख पर्यटकीय स्थलहरुमा अवलोकन भ्रमणका लागि प्रवेश गर्दा सम्पूर्ण स्वदेशी र विदेशी नागरिकहरुलाई प्रवेश शुल्क (कर) लगाउन सुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०८२/८३ को सुरुवातसंगै यहाँका पर्यटकीय स्थलहरुमा लगाइएको प्रवेश शुल्क (कर) कार्यान्वयमा आएको हो ।

नगरपालिकाले सोमेश्वरगढी प्रवेशमा अन्य विदेशी नागरिकहरुलाई रु.१००, भारतीय नागरिकहरुलाई रु.८० (भारु ५०), स्वदेशी नागरिकहरुलाई रु.५० र माडीबासीहरुलाई (परिचय खुल्ने कागजका आधारमा) रु.१० प्रवेश शुल्क लगाएको हो । चैतेदशैंभन्दा ९ दिन अगाडिदेखि चैतेदशैंका दिनसम्म भने प्रवेश निःशुल्क रहनेछ ।

यसैगरी, पुष्पमदन बाटिकामा प्रवेशका लागि सबै विदेशी नागरिकहरुलाई रु.५०, स्वदेशी नागरिकहरुलाई रु.२५ र स्थानीयबासीहरुलाई रु.१० को टिकट लागु गरिएको छ । रेडहिल पार्क प्रवेशका लागि विदेशी नागरिकहरुलाई रु.५०, स्वदेशीलाई रु.२५ र स्थानीयलाई रु.१० प्रवेश शुल्क लागु भएको छ । यसैगरी, बैकुण्ठ धाम क्षेत्र प्रवेशका लागि अन्य विदेशीहरुलाई रु.१००, भारतीयहरुलाई रु.८०, स्वदेशीलाई ५० र स्थानीयलाई रु.१० तोकिएको छ ।

यसबाहेक, अयोध्याधाम (राम मन्दिर क्षेत्र)मा विदेशीलाई रु.५०, स्वदेशीलाई रु.२५ र स्थानीयलाई रु.१० प्रवेश शुल्क तोकिएको छ । त्यस्तै, बाल्मीकि आश्रम क्षेत्रमा अन्य विदेशी नागरिकलाई रु.५०, भारतीयहरुलाई रु.१६ (भारु. १०), नेपालीहरुलाई रु.१० र स्थानीयलाई रु.५ प्रवेश शुल्क तोकिएको छ ।

पर्यटकीय स्थलमा बनभोज गर्दा २० जनासम्मको रु.३००, ४० जनासम्मको रु.५०० तथा ४० बढीका लागि रु.१ हजार शुल्क लाग्ने भएको छ भने सुटिङ (छायाँकन) गर्दा प्रतिदिन रु.१० हजार शुल्क तोकिएको छ । बाल्मीकि आश्रम र अयोध्याधाममा घेराबार लगाउन बाँकी रहेकाले शुल्क कार्यान्वया सुरु हुन केहि समय लाग्ने नगरका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार