चितवन खबर पोष्ट

माडी नगरपालिकाको पर्यटकीय क्षेत्रमा कर लगाउने निर्णयप्रति तीव्र आलोचना, निर्णय खारेजको माग

माडी, चितवन — माडी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ देखि नगरभित्रका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा स्वदेशी तथा विदेशी पर्यटकहरूबाट प्रवेश शुल्क उठाउने निर्णय कार्यान्वयनमा ल्याएपछि स्थानीयबासीदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताबाट तीव्र आलोचना भएको छ ।

स्वदेश एफ.एम.ले सो प्रवेश शुल्कबारे शुक्रबार खबर सार्वजनिक गरेलगत्तै माडीबासी र अन्य सरोकारवालाहरूले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै निर्णय फिर्ता लिन माग गरेका छन् । सुसिल बरालले “यो निर्णय तुरुन्तै खारेज गर्नुपर्छ” भन्दै टिप्पणी गरेका छन् भने नारायण आचार्य लेख्छन्, “यसको मतलब माडीमा पर्यटन नआउनु भन्ने जस्तो लाग्छ ।”

श्याम पौडेलले धार्मिक स्थलमा शुल्क लगाउने निर्णयप्रति आपत्ति जनाउँदै व्यवसायिक प्रयोजनमा मात्र शुल्क लिनुपर्ने सुझाव दिएका छन् । निर्मल पोखरेल, शंकर दुबे, तथा रामजी सापकोटालगायतले धार्मिक स्थलमा कर लगाउनु अनुचित भएको बताउँदै निर्णय फिर्ता लिन माग गरेका छन् ।

बिक्रम न्यौपानेले “वाल्मीकि आश्रमसम्म पहुँचको बाटो समेत नगरबाट छैन, त्यसमा कर लिनु विडम्बनापूर्ण हो,“ भन्दै प्रश्न गरेका छन् । केहीले पूर्वाधार अभावमा शुल्क लिनु अन्यायपूर्ण भएको तर्क गरेका छन् भने क्षेत्रप्रसाद देवकोटाले “माडीका पर्यटकीय स्थलहरूमा भौतिक पूर्वाधार विकास बिना कर लगाउनु गलत“ बताएका छन् ।

नगरपालिकाको निर्णयअनुसार सोमेश्वरगढी, पुष्पमदन बगैँचा, रेडहिल पार्क, बैकुण्ठधाम, अयोध्याधाम तथा वाल्मीकि आश्रम लगायतका स्थानहरूमा नेपाली, भारतीय तथा अन्य विदेशी नागरिकहरूलाई फरक-फरक दरमा प्रवेश शुल्क तोकिएको छ । यस्तै, पिकनिक तथा छायांकनका लागि समेत शुल्क निर्धारण गरिएको छ ।

हालसालैको यो निर्णयले माडीको उदाउँदो पर्यटन क्षेत्रको समग्र रणनीतिमा पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिएको छ । मुख्यतः धार्मिक स्थलहरुमा प्रवेश शुल्क लागु गर्नु अनुचित रहेको बताउँदै अधिकांलले दानपेटिका राख्न सुझाव दिएका छन् भने कर उठाउनुअघि पूर्वाधार बनाउन माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार