चितवन खबर पोष्ट

सांसद पाण्डेद्वारा बैकुण्ठ धाम प्रवेशद्वार र घाँगर/टुनामुना खोला सिँचाइ आयोजनाको समुद्घाटन

चितवन, माडी — माडी नगरपालिका वडा नं. ८ मा नवनिर्मित बैकुण्ठ धाम प्रवेशद्वार र घाँगर खोला तथा टुनामुना खोला सिँचाइ आयोजनाको औपचारिक समुद्घाटन भएको छ ।

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री विक्रम पाण्डेले आइतबार सो प्रवेशद्वार एवं सिंचाई परियोजनाको समुद्घाटन गर्नुभएको हो । कार्यक्रममा पूर्व प्रदेश सांसद एवं राप्रपा नेतृ रिना गुरुङ, वडाध्यक्ष वीरेन्द्र भण्डारी, बैकुण्ठधाम पर्यटन समिति, टोलवासी र फुलबारी आमा समूहको सहभागिता रहेको थियो ।

त्यस क्रममा बोल्दै राप्रपा बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका सांसद पाण्डेले धार्मिक पर्यटन, कृषि तथा पूर्वाधार विकासको संयोजनले माडीलाई नमुना नगर बनाउन सकिने बताउनुभयो । यसप्रकारको योजनाबाट स्थानीयको जीवनस्तर उकास्न योगदान पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बैकुण्ठ धाम प्रवेशद्वार निर्माणमा बागमती प्रदेश सरकारबाट १० लाख र सिँचाइ आयोजनाका लागि संघीय सरकारबाट १ करोड रुपैयाँ बजेट व्यवस्थापन रहेको थियो । आयोजनाबाट चौकीडाँडा र बेलौती डाँडाका करिब २५ बिघा जमीनमा सिँचाइ सुविधा पुगेको छ ।

सोही क्रममा, सांसद पाण्डेले अयोध्यामार्गको स्थलगत अवलोकन गर्दै त्यहाँस्थित फुलबारी आमा समूहको सामाजिक कार्यको प्रशंसा समेत गर्नुभयो । व्यक्तिगत रूपमा रु १०,००० सहयोग गर्दै समूहलाई नगरपालिका बाट ‘उत्कृष्ट आमा समूह’ सम्मानित भएकोमा बधाई दिनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार