

माडी, चितवन — नयाँ आर्थिक बर्ष २०८२/८३को सुरुवातसंगै माडी नगरपालिकाले सबै सवारी साधन र निर्माण साधनहरुमा जिपिएस ट्रयाकिङ प्रणाली जडान गरेको छ । नगरपालिकाले चारचक्के गाडी र जेसिबी, ट्रयाक्टर, ट्रिपर लगायतका निर्माण साधनहरुमा ट्रयाक्टन नामको जिपिएस अनुगमन प्रणाली जडान गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिनुभयो ।
यो प्रणालीको जडानसंगै सबै सवारी साधनको लोकेशन (स्थान), गति (स्पीड), एसी र ईञ्जिन लकको अवस्था लगायतबारे रियल टाइम जानकारी लिन सकिने उहाँले जनाउनुभयो । यसबाट सवारी तथा निर्माण साधनहरुको नियमन र व्यवस्थापनमा निकै सहयोग पुग्ने र सवारी साधनहरु अनावश्यक तथा जथाभावी चलाउने विसंगति नियन्त्रण हुने उहाँको भनाई छ ।

यसैबिच, नगरपालिकाले नयाँ आर्थिक बर्षको सुरुवातबाटै नगर कार्यपालिका र वडा कार्यालयहरुमा अनलाइन सिफारिस र अनलाइन दर्ता प्रणाली प्रयोगमा ल्याएको पनि प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो । यसबाट पालिकाको कामकाजलाई पेपरलेस (कागजहीन) बनाउँदै लैजान सघाउ पुग्नुका साथै बितिसकेको मिति (ब्याक डेट)मा चिठीपत्र दर्ता हुने विसंगति पनि हट्ने उहाँले जनाउनुभयो ।
