

माडी, चितवन — माडीको देवेन्द्रपुरस्थित शनि मन्दिरका लागि शनिदेवको नयाँ मुर्ती ल्याइएको छ । भरतपुर–१०, स्याउलीबजार निवासी भुवन आचार्यले दिवंगत छोरा रञ्जन आचार्यको स्मृतिमा प्रदान गर्नुभएको करीब १ क्विन्टल तौल भएको ३.५ फिट उचाई भएको प्रस्तर (मार्बल) मुर्ती शनि मन्दिर परिसरमा ल्याइएको हो ।
त्यस अवसरमा स्थानीयबासीहरुले भजन कीर्तन सहित मुर्तीलाई सम्मान गर्दै मुर्तीलाई मन्दिरसम्म पुर्याएका थिए । मुर्तीलाई आउँदो श्रावण २२ गते प्राणप्रतिष्ठा गरी श्रावण २३ गते एक विशेष धार्मिक कार्यक्रमका साथ अनावरण र नेत्रमिलन कार्यक्रम गरिने शनि धामका अध्यक्ष युवा पण्डित सुदर्शन सुवेदीले जनाउनुभयो । मुर्तीको निर्माणमा मात्रै १ लाख ४७ हजार रुपैंया लागत परेको मुर्ती सहयोगका सहजकर्ता लिलाधर आचार्यले जनाउनुभयो ।

२०३५ सालमा स्थानीय वासीन्दाहरुले झण्डै २५ भन्दा धेरै शक्तीपिठ सिद्धपिठहरुबाट शिला ल्याएर स्थापना गरी पुजा सञ्चालन सुरु भएको सो धार्मिक क्षेत्र हाल माडीकै एक प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित छ । मन्दिरमा मुख्यतः शनिवारका दिन हजारौंको संख्यामा र अन्य दिनहरुमा दैनिक सयौंका संख्यामा भक्तजन एवं दर्शनार्थी पुग्ने गरेका छन् ।
