चितवन खबर पोष्ट

शैक्षिक सत्र २०८१ को कक्षा १२ परीक्षामा माडीबाट सहभागी परीक्षार्थीमध्ये दुई तिहाई बढी उत्तीर्ण

माडी, चितवन । शैक्षिक सत्र २०८१ को कक्षा १२ को परीक्षामा माडी नगरपालिकाबाट सहभागी परीक्षार्थीमध्ये दुई तिहाई बढी उत्तीर्ण भएका छन् । नगरका चारवटा माध्यमिक विद्यालय र एकवटा क्याम्पसबाट परीक्षामा सहभागी भएका ३६३ परीक्षार्थीहरु मध्ये २४१ जनाले ग्रेडिङ प्राप्त गरेका हुन् ।

सो नतिजामा सर्वाधिक प्रभावशाली प्रदर्शन सोमेश्वर माध्यमिक विद्यालयले गरेको छ । ६१ जना सहभागीमध्ये ५२ जनाले ग्रेडिङ प्राप्त गर्दै उक्त विद्यालयले ८५.२५ प्रतिशत सफलता हासिल गरेको छ । त्यसैगरी जनकल्याण मा.वि. ले ७८.३८ प्रतिशत (३७ मध्ये २९ जना), जनजीवन मा.वि. ले ६८.४२ प्रतिशत (३८ मध्ये २६ जना) र माडी मा.वि. ले ६०.९४ प्रतिशत (६४ मध्ये ३९ जना)ले ग्रेडिङ सफलता हासिल गरेका छन् ।

त्यस्तै, उच्च माध्यमिक तहको कार्यक्रम समेत सञ्चालन गरेको माडी क्याम्पसबाट सबैभन्दा बढी १६३ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमध्ये ५८.२८ प्रतिशत (९५ जना) उत्तीर्ण भएका छन् । माडी क्षेत्रबाट ३.६ देखि ४.० सम्मको उच्च श्रेणीमा जम्मा ५ जना मात्रै विद्यार्थी परेका छन् ।

परीक्षामा सहभागी शैक्षिक संस्थाहरुमध्ये माडी-१, बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयले तुलनात्मक उत्कृष्ट नतीजा प्रदर्शन गरेको छ । ६१ जना परीक्षार्थीमध्ये ५२ जना उत्तीर्ण भई ८५.२५% नतिजासहित सोमेश्वर मा.वि. पहिलो स्थानमा उक्लिएको हो । गत २०८० सालको कक्षा १२ परीक्षामा सो विद्यालयले ४३.५२% (८५ जना सहभागी रहेकोमा ३७ जना) मात्रै ग्रेडिङ हासिल गरेको थियो । यसबर्ष सो विद्यालयले ४१.७३% बढी (सुधारिएको) नतीजा निकालेको हो ।

२०८१ को परीक्षामा सोमेश्वर माध्यमिक विद्यालयबाट ३.६-४.० जि.पि.ए. ल्याउने १ जनासहित ३.२-३.६ जि.पि.ए.मा ५, २.८-३.२ जि.पि.ए.मा २३ र २.४-२.८ जि.पि.ए. ल्याउने २३ रहेका छन् । विद्यालयमा नयाँ प्रशासनले कार्यभार सम्हालेसंगै क्रमिक सुधार देखाइरहको सो विद्यालयले यसअघि एसइई परीक्षामा समेत सुधारिएको नतीजा प्रदर्शन गरेको थियो ।

२०८१ को कक्षा १२ को नतीजामा माडीका अन्य शैक्षिक संस्थाहरुमध्ये जनकल्याण माध्यमिक विद्यालयले अघिल्लो परीक्षामा पाएको ४८.८३% लाई बढाएर ७८.३८% (२९.५५% सुधारिएको) नतिजा ल्याएको छ । त्यस्तै, जनजीवन माध्यमिक विद्यालयले अघिल्लो बर्षको ३८.४६% मा २९.९६% बढोत्तरी गर्दै ६८.४२% ग्रेडिङ प्राप्त गर्दै सुधार देखाएको छ ।

माडी क्याम्पसले पनि अघिल्लो बर्षको ३१.५३% मा ३१.५% सुधार सहित ५८.२८% प्रतिशत सफलता प्राप्त गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख अन्तिम साता सञ्चालन भएको कक्षा १२ को परीक्षामा सहभागीमध्ये देशभरबाट ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार