

माडी, चितवन । माडी नगरपालिका-१ बरुवा बजारस्थित चितई खोलामाथि रहेको चर्चित ’भाइरल पुल’ मा फेरि एक पटक राष्ट्रिय झण्डा फहराइएको छ । माडी-७, दिवानगर निवासी युवा व्यवसायी एवं सामाजिक अगुवा शिव लामिछानेले १४ थान नयाँ राष्ट्रिय झण्डा स्टार स्पोर्टस् युवा क्लबलाई सौजन्यस्वरुप उपलब्ध गराउनुभएसंगै स्थानीय युवाहरुले झण्डा फेरेका हुन् ।
लामो समयदेखि घाम, पानी र हावाले जीर्ण बनेका पुराना झण्डाहरू फेरिएसंगै सो पुल पुनः एकपटक दर्शनीय बनेको छ । २०८० सालको सुरुवातमा बरुवा बजारका युवाहरूले पुलको रेलिङमा एक दर्जनभन्दा बढी नेपाली झण्डा राखेपछि सो स्थान ‘भाइरल पुल’को रूपमा चिनिएको थियो ।

समयको प्रभावले च्यातिएका झण्डाहरू फेरिनुपर्ने अवस्थामा पुगेकोमा पुल नजिकै रहेको स्टार खेल मैदानमा तीज विशेष फुटबल स्पर्धा हुन लागेको सन्दर्भ पारी झण्डाहरू फेरिएका हुन् । क्लबले यस कार्यमा सहयोग गरेका सबैप्रति आभार व्यक्त समेत गरेको छ ।
