

माडी, चितवन । माडीको भैरवपुरस्थित धान खेतमा गैंडा मरेको घटनामा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले सो धान खेतका कृषकलाई पक्राउ गरेको छ ।
धान खेतलाई जंगली जनावरबाट बचाउन खेत वरपर जि.आई. तारले घेराबार गरेका कृषक, माडी नगरपालिका-२, भैरवपुर निवासी हरिभक्त श्रेष्ठलाई निकुञ्ज प्रशासनले पक्राउ गरेको हो । गैंडा मरेको धानखेत कृषक श्रेष्ठको नीजि स्वामित्वको जमीन हो र सो खेत निकुञ्जको सीमाभन्दा २.५ किलोमिटर टाढा मानव बस्ती क्षेत्रमा रहेको छ ।

बिहान करिब १०:३० बजे गैंडा मृत अवस्थामा गैँडा भेटिएको थियो । निकुञ्जका पशु चिकित्सक र प्राविधिकहरुले बुधबार नै गैंडाको खाग र खुर काटेर पोष्टमार्टम गरी खाडलमा गाडेर अन्त्येष्टी गरेका छन् । जंगली जनावरबाट बाली जोगाउन खेत वरिपरि राखिएको र करेन्ट प्रवाह भएको जि.आई. तारमा अल्झिँदा गैँडाको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।

यसैबिच, धानखेतमा गैंडा मरेको घटनामा चितवन राष्ट्रिय निकुञ्जले धानखेतका कृषक हरिभक्त श्रेष्ठलाई पक्राउ गरेकोप्रति नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ । सो पार्टीका माडी नगर अध्यक्ष भरत तिमिल्सिना र नगर ईञ्चार्ज गिरीधारी सुवेदीले एक वक्तव्य जारी गर्दै ‘निजी स्वामित्वको सो धानखेतका कृषक श्रेष्ठलाई नेपाली सेनाको टोलीले पक्राउ गरिनु एकपक्षीय, अविवेकी र आपत्तिजनक कार्य हो भन्ने ठहर’ सहित तत्काल रिहाको माग गर्नुभएको हो ।

वक्तव्यमा ‘घटनाबारे निष्पक्ष र वस्तुनिष्ठ अनुसन्धान हुनुपर्ने’, ‘कृषकलाई तत्काल रिहा गर्नुपर्ने’ तथा ‘वन्यजन्तु संरक्षण नीतिहरू बनाउँदा स्थानीय जनताको जीविकोपार्जन र सुरक्षालाई समेत ध्यानमा राखिनुपर्ने’ माग गर्दै ‘एकसिंगे गैंडाको मृत्यु भएकोमा दुःख प्रकट’ समेत गरिएको छ ।