चितवन खबर पोष्ट

चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने हुलाकी राजमार्ग छेउछाउ झाडी सरसफाइ कार्य सुरु

माडी नगरपालिका र सडक डिभिजन कार्यालय भरतपुरको समन्वयमा चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने हुलाकी राजमार्ग छेउ-छाउ झाडी सरसफाइ कार्य सुरु भएको छ ।

माडी नगर प्रमुख ताराकुमारी काजी महतोसँगको छलफलपछि सडक डिभिजन कार्यालयमार्फत झाडी फाड्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार सडक डिभिजन कार्यालय भरतपुरले शुक्रबार (श्रावण ३० गतेदेखि) कसरा क्षेत्रमा राप्ती पुलदेखि रिउ खोलासम्मको सडक छेउ-छाउमा रहेका अग्ला झाडी हटाउने कार्य थालेको हो ।

यसका लागि माडी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीबद्ध व्यक्तिहरू लेन्थवर्कर (सडक सफाइ गर्ने कामदार)का रुपमा पठाएको हो । लेन्थवर्करहरुको ज्याला (पारिश्रमिक) भुक्तान भने डिभिजनले गर्ने सहमती रहेको छ ।

डिभिजनका अनुसार अग्ला-अग्ला झाडीका कारण सडक छेउमा जंगली जनावरहरू आवतजावत गर्ने तथा सर्वसाधारणलाई हिंडडुलमा समेत बाधा हुने भएकाले मानव र जनावर दुवैको सुरक्षालाई ध्यानमा राखी यो अभियान सुरु गरिएको हो । सडक डिभिजनले ग्रेडर र रोलर प्रयोग गरी हुलाकी सडक मर्मत कार्य पनि गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार